०७ असार २०८३, आइतबार

सांसदहरूलाई ओसार्न गाडी किन्दै दुई नम्बर प्रदेश, उपसभामुख र सचिवालयलाई छुट्टै गाडी

पुस २२, २०७५
सांसदहरूलाई ओसार्न गाडी किन्दै दुई नम्बर प्रदेश, उपसभामुख र सचिवालयलाई छुट्टै गाडी

जनकपुरधाम– प्रदेशसभा सचिवालयले सांसदहरूका लागि दुईवटा माइक्रोबस टोयटा हाइस गाडी किन्ने तयारी गरेको छ । दुई नम्बर प्रदेश सभामा रहेका सांसदहरूलाई घर/डेराबाट प्रदेश सभा भवन ल्याउन र लैजानका लागि प्रदेश सभा सचिवालयले गाडी किन्न लागेको हो । 

प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले भने,‘कतिपय सांसदज्यूहरूलाई प्रदेश सभा भवन आउनजानका लागि निजी सबारी साधन नभएको हुनाले उहाँहरूलाई प्रदेश सभामा ल्याउन र घरसम्म पु¥याउनका लागि दुईवटा हाईस गाडी किन्दै छौं ।’

केही महिना अघि प्रदेशसभा अन्तर्गत रहेको संसदीय समितिलाई बाँकी ६ वटै प्रदेशको अवस्था अध्ययन गराउनका लागि सचिबालयले योजना बनाएको थियो । त्यसको लागि प्रदेश सभासँग आफ्नो सवारी साधन पनि थिएन । त्यसैले निजी सवारी साधन नै १० दिनको लागि भाडामा लिएर जाने सोच बनेको थियो । तर, भाडा नै ५ लाख रुपियाँ भने पछि प्रदेशसभाले आफैले गाडी किन्नु राम्रो हुने निर्क्यौल गरिएको उपसचिव यादवले बताए ।

‘भाडा नै धेरै भए पछि अन्य प्रदेश घुम्ने कार्यक्रम तत्काल स्थगित भयो’ यादवले भने ‘अब आफ्नै हाईस किनेपछि सांसदज्यूहरूलई अध्ययन भ्रमण गराइनेछ ।’

प्रदेश सचिवालयको आफ्नै सावरी भएपछि पछि सांसदहरुलाई घरदेखि प्रदेश सभा र प्रदेश सभादेखि घरसम्म ल्याउने पुर्‍याउने कार्य गरिनेछ । दलका नेतादेखि पदाधिकारी सम्मलाई सवारी सुबिधा प्रदान गरिएको भए पनि सांसदहरूसंग सबारी साधन नभएका बेला उक्त गाडीलाई प्रयोगमा ल्याउने प्रदेश सभाले तयारी गरेको हो ।

त्यसै गरी अर्को दुईवटा एसयुभी गाडी पनि प्रदेश सभाले किन्दैछ । त्यस मध्येको एउटा गाडी उपसभामुख उपमा देवले चढ्नेछन् भने अर्को गाडी सचिबालयले प्रयोग गर्नेछन् ।  चारवटै गाडी खरिदका लागि प्रदेश सभा सचिवालयले टेन्डर समेत आह्वान गरिसकेको छ । 

गत वर्ष सचिवालयले सभामुख सरोजकुमार यादवका लागि  ६४ लाख रुपियाँमा एउटा स्कार्पियो गाडी किनेको थियो । उपसभामुखले पुरानो गाडी चढ्दै आएकी थिइन् ।

सांसदलाई ल्यापटप दिने अन्तिम तयारी 

त्यसै गरी प्रदेश सभा सचिवालयले प्रदेशका १ सय ७ जना सांसदहरूलाई ल्यापटप दिने प्रक्रिया पनि अगाडि बढाएको छ । कुल १ सय १८ वटा ल्यापटप किन्नका लागि आह्वान गरिएको टेन्डरको समय केही दिनमा सकिंदैछ । त्यस पछि सबै सांसदहरूले ल्यापटप समेत पाउनेछन् ।

प्रदेश सभालाई पेपरलेस बनाउने उद्देश्यले सबै सांसदलाई ल्यापटप दिन लागिएको उपसचिव यादवले बताए ।

ल्यापटप चलाउन नजान्ने सांसदलाई सचिवालयको आईटी कक्षमा प्रशिक्षण दिइनेछ, र पनि चलाउन नजानेको खण्डमा उनका अधिकृत स्तरका स्वकीय सचिवले ल्यापटप चलाउने उपसचिब यादवले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्