२७ जेठ २०८३, बुधबार

सभामुख र उपसभामुख सबैभन्दा बढी बिरामी, प्रदेशसभाकै उपचार कक्षमा चेकजाँच

पुस २४, २०७५
सभामुख र उपसभामुख सबैभन्दा बढी बिरामी, प्रदेशसभाकै उपचार कक्षमा चेकजाँच

जनकपुरधाम – २ नम्बर प्रदेश सभामा स्थापना भएको प्राथमिक उपचार कक्षमा सबैभन्दा बढी सभामुख र उपसभामुखले उपचार गराउने गरेका छन् ।

प्रदेशसभा सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले नै सबैभन्दा बढी पटक उपचार गराएर औषधि लैजाने गरेका छन् ।

प्रदेशसभा सदस्य लगायत सचिवालयका कर्मचारीदेखि मर्यादापालक समेतले प्राथमिक उपचार कक्षबाट सुविधा लिने गरेका छन् । तर प्रदेशसभा सदस्यभन्दा पनि सभामुख, उपसभामुख र कर्मचारीले नै धेरै पटक उपचार गराएको र औषधि लिने गरेको तथ्यांक तहको छ ।

प्रदेशसभा संसद हलको माथिल्लो तलामा मेडिकल कक्षको स्थापना गरिएको छ । कक्षमा हेल्थ असिस्टेन्ट (एचए) सुजितकुमार यादव गत जेठदेखि कार्यरत छन् ।

‘सभामुख सरोजकुमार यादवलाई हाईपर टेन्सन, मधुमेह, रक्तचाप लगायत रोगको बिरामी हुनुहुन्छ, उहाँले पटक–पटक त्यसको जाँच गराई औषधि लिने गर्नुभएको छ,’ उनले भने । उपसभामुख उपमा देव पनि कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप लगायतको बिरामी रहेकाले सोही अनुसार औषधि दिने गरेको यादवले बताए ।

उपचार कक्षमा सामान्यतया दिनहुँ ३ देखि ४ जनाले उपचार गराउने गरेका छन् । तर सदन चलेको दिन १० देखि १५ जना सांसदले नियमित रूपमा उपचार गराउने र औषधि लैजाने गरेका छन् । सांसदभन्दा बढी सचिवालयका कर्मचारीले नै सेवासुविधा लिइरहेको विवरण अभिलेखमा छ ।

सदन चलिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डल कुर्सीमै बेहोस भएको घटना एचए यादवले सम्झिए । ‘२०७५ साउन १३ गतेको बैठकमा उहाँ कुर्सीमै मुर्छित भएर बेहोश हुनुभएको थियो । मेडिकल कक्षमा ल्याएर करीब १ बजेदेखि ५ बजेसम्म उपचार गरिएको थियो ।’

उपचार गराउने सांसदमा बढीजसो महिला सांसद रहेका यादवले बताए । ‘टाउको दुख्ने, पेट दुख्ने, रुघाखोकी लगायत समस्या देखिनुका साथै प्रायः महिला सांसदमा रक्तचापको समस्या देखिने गरेको छ,’ उनले भने । पुरुष सांसदमा मधुमेह, रक्तचाप, कोलेस्ट्रोल र ग्यास्ट्रिकको समस्या रहने गरेको छ ।

उपचार कक्षमा गत आर्थिक वर्षमा ५ लाख रुपैयाँको औषधि किनिएको थियो भने चालू आर्थिक वर्षमा पनि ५ लाख रुपैयाँको औषधि किनिएको छ । कक्षमा १ सय ११ प्रकारका औषधि राखिएका छन् । औषधि खरिद टेन्डर नगरी कोटेसनमा गरिएको छ ।

प्राथमिक उपचार कक्षमा १ जना मेडिकल फिजिसियनको दरबन्दी राख्ने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयका उपसचिव रञ्जित यादवले भने, ‘कम्तिमा १ जना फिजिसियन चिकित्सकको नै खाँचो छ । केहीदिनमै त्यसका लागि भर्ना गर्ने तयारी गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्