१४ असार २०८३, आइतबार

कांग्रेसमा किन मर्दैछ बीपीको विचार ?

माघ १, २०७५
कांग्रेसमा किन मर्दैछ बीपीको विचार ?

पछिल्ला दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाले जनतालाई आफ्नो पार्टीको नीतिबारे प्रस्ट पार्नुभन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको आलोचनामा समय खर्चिनुभएको छ ।

आलोचनाका सन्दर्भमा अबका चार वर्षसम्म नेपाली कांग्रेस सरकारमा अनुपस्थित रहने भएकाले नेकपामाथि अधिनायकवादको पूर्वाग्रही अभिव्यक्ति हुनसक्छ । आवधिक चुनाव लोकतन्त्रको अनुपम अङ्ग हो । विश्वव्यापीकरणको प्रभावले गाँजेको देशमा निर्वाचनमार्फत विजयी नेकपा नेतृत्व सरकारबाट अधिनायकवादी शासन कति सम्भव होला र ? 

अहिले कांग्रेसका नेताहरूले कम्युनिस्ट नेतृत्व सरकारलाई अधिनायकवादी भन्दै गर्दा कांग्रेस मूल नेतृत्व आफ्नो आन्तरिक पार्टी जीवन स्वच्छ लोकतान्त्रिक विधिअनुरूप सञ्चालन भएको कम देखिन्छ । कांग्रेस सभापति देउवा अधिनायकवादी तवरले प्रस्तुत भएको पार्टीका शीर्ष नेताहरूको गम्भीर आरोप छ । सभापति देउवाले ओली नेतृत्व सरकारलाई आरोप लगाउँदै गर्दा आफ्नो प्रवृत्ति र चरित्रबारे भुसुक्क बिर्सनुहुँदैन ।

अहिले कांग्रेसभित्र सत्तामोह, नातावाद, कृपावाद, धनवाद र डनवाद हावी हुँदा मूल नेतृत्व कुहिरोको काग जस्तो बनिरहेको देखिन्छ । लोकतान्त्रिक पार्टीमा तानाशाही तवरले नेताको नजिकको इच्छाएको व्यक्तिले चुनावमा टिकट पाउने पद्धति कांग्रेसमा विद्यमान छ । वडा, नगर, क्षेत्र र जिल्लाबाट सिफारिश हुँदै अनुमोदन हुने प्रक्रिया कांग्रेस पार्टीमा नहुनु कांग्रेसभित्र आन्तरिक लोकतन्त्र छैन भन्ने आभास हुन्छ । प्रदेशसभा र प्रतिनिधिसभामा लज्जास्पद हार बेहोर्नु पनि मुख्य यिनै कारण हुन् ।

जनताले कांग्रेस नेताबाट आरोप प्रत्यारोप भन्दा समृद्ध मुलुक निर्माण गर्ने ठोस खाका चाहेका छन् । यसबारे नेताहरू गम्भीर बन्न आवश्यक छ ।

लामो राजनीतिक इतिहास भएको नेपाली कांग्रेस साना–साना विषयमा अहिले अल्झिनुभन्दा समृद्ध मुलुक निर्माण गर्ने योजना र प्रतिबद्धता नेपाली जनतासमक्ष गरे आगामी दिन उज्ज्वल बन्नसक्छ ।

जनताले कांग्रेस नेताबाट आरोप प्रत्यारोप भन्दा समृद्ध मुलुक निर्माण गर्ने ठोस खाका चाहेका छन् । यसबारे नेताहरू गम्भीर बन्न आवश्यक छ । वर्तमान जनमतले कांग्रेसको भूमिका रचनात्मक र सिर्जनशील प्रतिपक्षको बनाएको छ । अहिले सत्ताबाहिर बस्नुको पीडाले कांग्रेसका नेताहरू वर्तमान जनमतद्वारा निर्वाचित ओली नेतृत्व सरकारलाई अधिनायकवादी भन्नु लोकतन्त्रमाथिको उपहासबाहेक केही होइन । 

जनताबाट प्रधानमन्त्री ओलीलाई हरियो बत्ती नै छ । प्रधानमन्त्री ओलीका पनि कार्यशैलीमा कमजोरी होलान् तर समृद्ध मुलुकको जग राख्ने उनको पवित्र चाहनालाई तुरुन्त अवरोध नगरौं । अवरोध गर्न कांग्रेस नेताहरू तिललाई पहाड बनाउने कोशिशमा लाग्नु भनेको मुलुकमा अस्थिरतलाई निम्तो दिनु मात्र हो । मुलुकमा द्वन्द्व बढाउने काम मात्र हो ।

कांग्रेस शीर्ष नेताहरूबाट पार्टीभित्र आफ्ना राजनीतिक वैचारिक कार्यदिशाबारे बहस गर्नुपर्नेमा आफैंले समर्थन गरेर निर्माण गरेको संविधानमा लिपिबद्ध धर्मनिरपेक्षता जस्तो गम्भीर विषयमा विवादित भनाइहरू सार्वजनिक गर्नु दुःखद् पक्ष हो । कांग्रेस नेतृत्वले बुझेको हुनुपर्छ, नेपाल बहुधार्मिक देश हो । महासमिति बैठकको फाइदा उठाउँदै कट्टर धर्मभीरू बन्दै धर्मनिरपेक्षताबारे बहस गर्नु भनेको मुलुकको धार्मिक सहिष्णुतामाथि खलल पुर्‍याउनु हो ।

कांग्रेसको महासमिति बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला संविधानको मर्मअनुरूप धर्मनिरपेक्षतामा प्रतिबद्धता सार्वजनिक गरिरहेका छन । परन्तु बीपी कोइराला पुत्र तथा महामन्त्री शंशाक कोइराला धर्मनिरपेक्षताबारे संविधानविपरीत मत छ । परिणामतः जनता र कांग्रेसबीच पछिल्लो समयमा केही अन्तर्विरोधयुक्त समस्या छ ।

मुलुकको शासन व्यवस्था परिवर्तनका लागि राणाशासनविरुद्ध सङ्घर्ष गरेको तत्कालीन कांग्रेस अहिले पनि परिवर्तनलाई सहजै ग्रहण गर्न सकिरहेको छैन । वर्तमान कांग्रेस बीपी कोइराला अपनाउनुभएका नीतिभन्दा धेरै पर जाने कुचेष्टा गर्दैछ । बीपी सधैं राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विधिको  शासनका हिमायती हुन् ।

समग्रमा यतिबेला नेपाली कांग्रेसमा बीपी कोइरालाले जस्तो गरी मुलुकबारे सोच्ने, बुझ्ने, मनन गर्ने र व्यवहारमा लागू गर्नसक्ने चिन्तन नेतृत्वमा अभाव छ । यसकारण वर्तमान कांग्रेस पार्टी पखेटाविनाको चरा जस्तै बन्दै गइरहेको छ ।

बीपीका लेख अन्तर्वार्ताबाट पनि प्रस्ट हुन्छ, उहाँ सधैं धर्मनिरपेक्षताका पक्षधर हुनुहुन्थ्यो । बीपी आफ्नो समयमा एक क्रान्तिकारी नेतृत्व हुनुहुन्थ्यो । तर अहिले नेपाली कांग्रेसमा बीपीको समयका नेता जस्ता क्रान्तिकारी छैनन् । कांग्रेस नेताहरू यथास्थितिवादमा नै रमाउन खोज्नु असाध्यै दुर्भाग्य हो । पार्टीलाई समयसापेक्ष बनाउन कांग्रेस पार्टीमा युवाहरूको हस्तक्षेपको आवश्यक देखिन्छ ।

समग्रमा यतिबेला नेपाली कांग्रेसमा बीपी कोइरालाले जस्तो गरी मुलुकबारे सोच्ने, बुझ्ने, मनन गर्ने र व्यवहारमा लागू गर्नसक्ने चिन्तन नेतृत्वमा अभाव छ । यसकारण वर्तमान कांग्रेस पार्टी पखेटाविनाको चरा जस्तै बन्दै गइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्