
जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा महेन्द्रराय यादवले गत आइतवारदेखि कार्यकाल सम्हालेका छन् ।
चक्रीय प्रणाली अनुसार राजेन्द्र महतोको २ महिने कार्यकाल सकिएपछि यादवले राजपाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
यसअघि लामो समयदेखि महन्थ ठाकुरले नेतृत्व सम्हालिरहेको अवस्थामा अध्यक्ष मण्डलको बहुमत सदस्यले नेतृत्व आलोपालो परिवर्तन गर्ने निर्णय गरेपछि महतोले नेतृत्व पाएका थिए । २ महिने कार्यकालमा महतोले गरेको नेतृत्वलाई लिएर राजपाका नेताहरूले अत्यन्तै सकारात्मक रुपमा मात्र लिएका छन् । चक्रीय प्रणाली अनुसार निर्धारित समयमै नेतृत्व हस्तान्तरण गरेपछि राजपाभित्र महतोको प्रशंसा हुन थालेको छ ।
महतो निकट मानिने राजपाका महासचिब मनिष कुमार सुमनले महतोको कार्यकाल सफल रहेको बताए । चक्रीय प्रणाली अनुसार पार्टीको नेतृत्व हस्तान्तरण गरेर महतोले पार्टीमा अन्य अध्यक्षमण्डलका सदस्यले पनि स्वभाविक रूपमा नेतृत्व पाउन सक्ने बाटो खोलिदिएको सुमनले बताए ।
‘पार्टीमा महाधिवेशनलाई लिएर साधारण सदस्यता वितरणदेखि क्रियाशील सदस्यता वितरणमा समेत महतोको कार्यकालमा जे सक्रियता देखियो, त्यसले पार्टीमा पनि थप जिवन्तता ल्याएको छ,’ २ नम्बर प्रदेशका सांसद समेत रहेका सुमनले लोकान्तरसँग भने, ‘राष्ट्रिय राजनीतिमा पनि राजपाको हैसियत र भूमिका महतोको कार्यकालमा बढ्नु अर्को सफलता हो ।’
राजपाका सांसद रेशम चौधरीको शपथ ग्रहण गराउन सक्नु महत्त्वपूर्ण सफलता भएपनि संविधान संशोधनको दिशामा कुनै पनि उपलब्धी हुन नसक्दा संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नु विफलता रहेको सुमनले बताए । ‘केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग पूर्ण रुपले सम्बन्ध तोड्नुपर्नेमा त्यसो हुन नसक्नु महतोको कार्यकालको अशोभनीय घटना हो,’ उनले भने ।
राजपा अध्यक्षमण्डलका संयोजक रहेकै बेला महतोको निर्वाचन क्षेत्रमा राजपाकै नेता तथा कार्यकर्ताले पुत्ला दहन गर्दै विरोध हुनु अत्यन्तै अशोभनीय घटना भएको बताउँदै सुमनले थपे, ‘प्रतिनिधि सभाको १५ र प्रदेश सभाको ११ गरी २६ वटा निर्वाचन क्षेत्रमा कुनै पनि सांसदको हालसम्म विरोध नहुनु र महतोकै पुत्ला दहन हुनु अत्यन्त अशोभनीय घटना हुन गयो ।’
पार्टी एकढिक्का भएर जानुपर्ने ठाउँमा महतोकै कार्यकालमा पूर्वतमलोपाको समूहमा नयाँ ध्रुवीकरण हुन खोज्नु, फेरि पुरानै पार्टीको अस्तित्व कायम गर्न जुर्मुराउनु पनि अशोभनीय घटनाको रुपमा हुन गएको सुमनको टिप्पणी छ ।
संयोजक यादव पूर्व कम्युनिस्ट पार्टीमा रहेका कारण उनीप्रति कुनै पनि किसिमले शंका गर्न नहुने सुमन बताउँछन् । ‘उहाँ अब पूर्णरुपले राजपा हो । उहाँकै कार्यकालमा संविधान संशोधन हुन सकोस् भन्ने हामीले अपेक्षा राखेका छौं,’ सुमनले भने ।
‘भन्नका लागि महतोले ६० दिनको कार्यकाल व्यतित गरे तर पूर्वसंयोजक महन्थ ठाकुर बैठकमा नआइदिँदा करीब ४० दिनजति त बैठक नै बस्न नसकेको अवस्थामा २० दिन जतिमा कार्य भएको छ, त्यो ऐतिहासिक नै रहेको छ,’ राजपा नेपालकै अर्को महासचिव राजीव झाले भने ।
‘ठाकुरजी बिरामी भएपछि लामो समयसम्म पार्टीको बैठक नै बस्न सकेन । तर बाँकी २० दिनमा जसरी उनले पार्टी चलाए त्यो ऐतिहासिक नै हो,’ महासचिव झाले भने, ‘रेशम चौधरीको सपथ ग्रहण, पार्टीलाई महाधिवेशनतर्फ लैजानु र पार्टीको नेतृत्व निर्धारित समयमै हस्तान्तरण गर्नाले पार्टी अब विधान बमोजिम ट्रयाकमा हिँड्न सफल भएको छ ।’
राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव पार्टीमा नेतृत्वभन्दा पनि, व्यक्तिभन्दा पनि, पार्टी सामुहिक नेतृत्वमै चलेकाले यो व्यक्ति वा त्यो व्यक्तिको कार्यकाल सफल भयो, विफल भयो भनेर विश्लेषण गर्नु उपयुक्त नहुने बताउँछन् ।
पार्टीमा संयोजक जो कोही भएपनि निर्णय सामुहिक रुपमै लिने गरिएकाले सबै अध्यक्षमण्डलका सदस्यको समान भूमिका रहेको उनले बताए । ‘महतोजीले नेतृत्व गरेको कार्यकालमा स्वभाविक रूपले रेशम चौधरीको सपथ ग्रहण हुनु सफलता हो,’ उनले भने । महेन्द्र यादवको कार्यकालमा पार्टीको महाधिवेशनको कामले निरन्तरता पाउनेमा उनी आशावादी देखिन्छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने कुरा पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा भएको भन्दै यादवले भने, ‘संसदीय दलको बैठक बसेर त्यस्तो निर्णय भएर सभामुख र राष्ट्रपतिलाई पत्र पठायो भने हुन्छ । तर त्यस्तो कुनै पनि निर्णय अध्यक्षमण्डलको संयोजकले मात्र गर्ने कुरा हुँदैन ।’