
पोखरा – बलात्कारको आरोप लागेपछि लामो समयसम्म फरार भइ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई स्थानीय २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । युवतीले आफूलाई पटक–पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै वडा प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन् ।
पीडित युवतीले वडाध्यक्ष रेग्मीले असोज २९ गते र कात्तिकमा २ पटक बलात्कार गरेको भनी गत मंसिर ६ गते उजुरी दर्ता गराएकी थिइन् ।
युवतीले ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएलगत्तै फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । युवती बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीको सेवासुविधा कटौती गरिएको नगरपालिकाले जनाएको छ ।
बलात्कारको आरोप लागेपछि तत्कालै फरार रहेका रेग्मीको सेवासुविधा कटौती गरिएको नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले बताइन् । ‘उहाँलाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि सम्पूर्ण सेवासुविधा कटौती गरिएको छ,’ उनले भनिन्, ‘अदालतबाट छिनोफानो नभएसम्म सेवासुविधा काटिएको छ ।’