
देशको प्रमुख कार्यकारी प्रधानमन्त्रीको मुखबाट कुनै राजनीतिक दलको छुद्र नेताको भन्दा पनि ‘हेड अफ गभर्नमेन्ट’को जस्तो शानदार भाषण सुन्ने इच्छा राख्नु सचेत नागरिकको कुनै महान् सपना हैन । प्रधानमन्त्रीको हरेक शब्द शब्दमा देशको भविष्य जोडिएको हुन्छ । स्वयं प्रधानमन्त्रीकै व्यक्तित्वको भाष्य पनि त्यही शब्दमा मिश्रित हुन्छ । यसो लेख्दै गर्दा प्रधानमन्त्रीलाई भाषण गर्न सिकाएको भने हैन । तर अंग्रेजीमा एउटा कथन छ : ‘गूड लिसनिङ इज गूड स्पीकिङ ।’ मलाई विश्वास छ, जनताका प्रधानमन्त्रीले जनताका कुरा सुन्नेछन् ।
त्यो के कुरा भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भाषण गर्ने गरेका हरेक औपचारिक अथवा अनौपचारिक कार्यक्रमको दर्शकदीर्घामा बसेका सहभागीहरू, मञ्चमा सँगै बसेका विशेष अतिथिहरू समेत उनको भाषण सुन्दै गर्दा गललल हाँसिरहेका देखिन्छन् । यो मर्यादित तथा अनुशासित कर्म हैन । मलाई के लाग्छ भने ‘टेक्निकल्ली अनफिट’ मानिसहरू जे कुरामा नि मेलोमेसो नमिलाइकै हाँस्छन् किनभने तिनिहरूलाई ठूलाबडाहरूको कुरा मन परे पनि, नपरे पनि थपडी पिट्दै हाँसिदियो भने ठूलाबडाहरू वास्तवमै खुशी हुन्छन् अनि बक्सिस मिल्न सक्छ भन्ने आश हुन्छ ।
तर जब प्रधानमन्त्रीको भाषण सुनेर मानिसहरू गलल्ल हाँस्छन्, तब मलाई भने उकुसमुकुस हुन्छ । एकप्रकारको पीडा हुन्छ । प्रधानमन्त्री आफ्नो भाषणउपर आएका हाँसोहरू सुनेर झन् हौसिने गर्छन् । र उनले झन् झन् लोकवासी हँसाउने किसिमका किस्साहरू, बान्कीहरू र टुक्काहरूको क्रमशः बिगुल फुक्छन् । म चाहन्छु, प्रधानमन्त्रीले एकदम कडा भाषण गरून्, यस्तो कडा कि हिटलरको भन्दा पनि कडा । यस्तो होस् कि उनको भाषण सुन्दा तोकिएको भूगोलमा काम गर्न नजाने ब्युरोक्रेसी जगतको सातोपुत्लो उडोस् र तिनीहरू डरले थरथर काँपून् । तर के गर्ने, दुःखको कुरा, तिनै कामचोर भ्रष्ट सचिव, उपसचिव अनि सुब्बाहरू नै प्रधानमन्त्रीको भाषण सुनेर हाँसिरहेका हुन्छन् ।
प्रधानमन्त्रीको हाँसोमा भ्रष्टाचारीहरूले ‘लुजर्स याटिच्युड’ देखेका हुन्छन् । शासकको भाषणले कुनै पनि देशको जिन्दगीमा धेरै फरक पार्दछ । जिन्दगीभित्र त्यस देशको ‘लाइफलाइन’ हुन्छ । कुनै पनि शासकको बानीबेहोरा फन्नी टाइपको हुनुहुँदैन । हो, हाँसो मजाकको बेलामा त्यो पनि हुन्छ । तर जतिसुकै बेला पनि हाँसो मजाक हानिकारक हुन्छ । अझ हाम्रो जस्तो जताततै अराजकताले थिचिएको देशमा शासक भनेको त किम जोङ–उन जस्तो हुनुपर्ने हो । तर ओली त चार्ली च्याप्लिन जस्तो भए । त्यसैले पनि होला ‘प्रधानमन्त्रीसँग सिधा प्रश्न’ भन्ने प्रायोजित टेलिभिजन कार्यक्रम युट्युबमा जम्मा १० हजारले हेर्दा मुन्द्रेको कमेडी क्लब भने ५० लाखले हेरिसकेका हुन्छन् ।
प्रधानमन्त्री ओलीको सधैं जसो सुनिने हास्यास्पद भाषणले गम्भीर विचार बोकेका नागरिकहरूको भद्दा अपमान गरेको छ । के अब गाला च्यातेर हाँस्न नजान्ने वैचारिक मनुष्यहरूका निम्ति प्रधानमन्त्री ओली केवल यो मुलुकको एक खलपात्र बनेका हुन् त? के अब उनको भाषण सुनेर थपडी बजाउँदै गललल हाँस्न नजान्ने मानिसहरू असल समाजवादी बन्न सक्दैनन् त ? उनको भाषणमा सैनिकको गुणगान कहाँ आउँछ ? लडाकू विमान बनाउने कुरा कहाँ आउँछ ? एके–४७ हतियार निर्माण गर्ने कुरा कहाँ आउँछ ?
यहाँनेर केही भाषणको चर्चा गर्न मन लाग्यो । शशी थरूरको नाम सुन्नुभएकै होला । शशी थरूर भारतका चर्चित लेखक, विद्वान् एवं कांग्रेस सांसद हुन् । उनले केही वर्षअघि अक्सफोर्ड युनियनको एउटा कार्यक्रममा भाषण गरेका थिए । उक्त भाषणले बेलायतमा हंगामा मच्चाएको थियो । थरूरले भनेका थिए – ‘म पूरा सम्मानका साथ भन्न चाहन्छु कि तपाईं २०० वर्षसम्म मानिसलाई कुल्चेर, गुलाम बनाएर र दुःख दिएर धनी बन्न सक्नुहुन्न तर पनि तपाईंहरू दाबी गर्नुहुन्छ तपाईंभन्दा ठूलो प्रजातान्त्रिक देश यो विश्वमा कुनै छैन । तपाईंले हामीलाई प्रजातान्त्रिक अधिकारबाट वञ्चित राख्नुभयो र हामीले त्यो तपाईंबाट खोस्नुपर्यो । १५० वर्षसम्म हामीलाई गुलाम बनाएर तपाईंहरूले धेरै दुःखका साथ हाम्रो जमीन फिर्ता दिनुभयो ।’ केही बुझ्नुभयो कुरा ? हो, ओलीज्यू, भाषण भनेको शशी थरूरको जस्तो हुनुपर्छ ।
जुलाई १९४४ मा नेताजी सुभाषचन्द्र बोसले पूरा देशलाई आह्वान गरेका थिए ‘तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिनेछु ।’ उनको यस आह्वानमा पूरा भारत जागृत भएको थियो । भूकम्प गएपश्चात् ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भनेका थिए, त्यो के भइरहेछ ? मै बनाउँछु मेरो धरहरा भनेर गफ चुट्दा उठाएको पैसा खै ? आज आम जनताले नेताको कुरा पत्याउन छाडे, शासकका कुरा सुन्न छाडे भनेर विकासका कामका लागि हास्यकलाकारलाई अगाडि सारिएको छ । त्यसैले शासकको भाषणमा हाँसो हैन, दम हुनुपर्छ । हाँसो हैन, भविष्य हुनुपर्छ । हाँसो हैन, प्रतिस्पर्धा हुनुपर्छ । हाँसो हैन, विवेक र चिन्तन हुनुपर्छ ।
शासकहरू एक स्तरमा ‘इन्टेलेक्चुअल’ हुनुपर्छ । अर्को स्तरमा गम्भीर प्रकृतिको विचार प्रदान गर्न सक्ने चिन्तक हुनुपर्छ । उसको बोली सुन्दा एक प्रकारको ‘भाइब’ उत्पन्न होस्, देशभरि भाइब्रेसन होस् । प्रधानमन्त्रीले हालसालै देशवासीको नाममा सम्बोधन गरे । तर मलाई यस्तो लाग्दैन उनको सम्बोधन हेर्न र सुन्न व्यग्रताका साथ जनताले टेलिभिजन सेट अगाडि कुरेर बस्छन् वा कान थापेर रेडियो सेट खोलेर पर्खन्छन् । यो केपी ओली यस्तै हो, खास के बोल्छ र ? उही मनगढन्ते कुरा गर्छ, धेरै गरे हसाउँछ ! उनका हनुमानहरू हाँस्छन्, थपडी बजाउँछन् भन्ने धेरैलाई लागेको हुनुपर्छ ।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै गर्दा एकजना बटुवाको तर्क थियो, ‘लु, टीभीमा धुर्मुस सुन्तलीले हसाउने जिम्मा दिएका मान्छे आइपुगेछन् ।’ साँचो अर्थमा ती बटुवाको भनाइमा सोझोपन त थियो तर प्रतीकात्मक ढंगले व्याख्या गर्ने हो भने ती बटुवाको भनाइमा गहिरो भाव लुकेको थियो । स्वामी विवेकानन्द सन् १८९३ मा शिकागोमा आयोजित धर्म संसदमा भाग लिन भारतबाट निस्कँदा यी युवा संन्यासीको बारेमा कसैलाई पनि भारतभन्दा बाहिर थाहा थिएन । तर जब उनले भाषण गर्दा विश्व हल्लियो । के हाम्रा प्रधानमन्त्रीको भाषणमा विश्व हल्लिनु आवश्यक छैन र ?
तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीको भाषण जादूमयी हुन्थ्यो भन्ने गरिन्छ । २०४७ चैत ५ मा काठमाडौंमा आयोजित चुनावी सभामा भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । अमेरिकाको पत्रिकाले कार्ल मार्क्स नेपालमा जीवित छन् भनेर लेखेको पुरानो पत्रिकाको खोस्टा आजभोलि पनि महत्त्वका साथ प्रचार गरिन्छ । पहिला पहिला चुनाव नजिकिँदै गर्दा तत्कालीन एमालेले प्रचार सामग्रीको रूपमा समेत त्यस समाचारलाई प्रयोग गरिरहे । त्यसैले भाषण भनेको सहभागीहरूलाई गलल हसाउने हैन कि जुरुकजुरुक उचाल्ने किसिमको हुनुपर्छ ।
मदन भण्डारीले तत्कालीन राजालाई लल्कार्दै भनेका थिए, ‘त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुपर्यो । हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् । आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’ के स्व. मदन भण्डारीको यो भाषणमा हाँसो छ त ?
विगतमा नेकपा एमालेको नेता हुँदा ओलीको भाषणको जुन स्तर थियो, प्रधानमन्त्री हुँदा पनि त्यसमा कुनै सुधार आएको छैन । के यी हाम्रा योजनाहरू नारायणगोपाल–अरुणा लामाले गाएको गीत जस्तो – ‘त्यो तारा मात्रै हैन, जून पनि झारी दिउँला’ भने जस्तो हो र ? भन्दै ओलीले पानीजहाज कार्यालय उद्घाटन गरे । तर त्यस कार्यालयमा ५०० रुपैयाँको ब्यानर बाहेक केही पूर्वाधारहरू छैनन् । पानीजहाज कार्यालयको उद्घाटन गरेपछि ओलीले भनेका थिए, भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला – ‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ‘त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खबर मै गरौंला ।’
प्रधानमन्त्रीको यो आक्रोश कससँग हो ? यो छटपटी कससँग हो प्रधानमन्त्रीको ? यस किसिमको तल्लो स्तरको प्रतिक्रिया कससँगको हो प्रधानमन्त्रीको ? उनी घाटामा डुबेको कुनै ‘ग’ वर्गको कम्पनीका ठेकेदार हुन् कि यस देशका प्रधानमन्त्री हुन् ? उनले अर्को कुरा पनि भने । त्यो के भने, कसै कसैले जगलाई नै हेरेर खै त चोटा, खै त कोठा, खै त छाना, भन्यो भने कसको के लाग्छ ?’ यसको मतलब यो हो कि जनताहरूका प्रश्न मरिसके, प्रश्नविनाको हरिलट्ठक जो हाँसी मात्र रहन्छ, त्यससँग मात्रै प्रधानमन्त्रीको सरोकार छ । कसरी नभनौं खै त रानीपोखरी ?
देशवासीको नाममा गाली हो कि देशवासीको नाममा सम्बोधन हो, त्यो बुझ्न मुश्किल हुन्छ जब सम्बोधनका क्रममा ओलीको पारो तात्छ । हुन त उनले एक कार्यक्रममा तास फिटे जस्तो कुरा फिट्ने बुद्धिजीवीबाट आफू हैरान भएको बताएका थिए । पढ्न र लेख्न जान्ने, आफूलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरूबाट आफूले सास्ती पाएको उनको दुखेसो थियो । के एउटा देशको प्रधानमन्त्रीले बुद्धिजीवीहरूलाई गरेको कटाक्ष जनताको नजरमा जायज होला ? बुद्धिजीवी भन्ने वर्ग पनि त जनताकै नजरबाट स्थापित हुने जिनिस हो । आफूले कुनै सचेत सोच नै नभएका हनुमानहरूलाई बटुलेर कथित ‘थिङ्कट्याङ्क’ बनाए जस्तो सजिलो हो र पढ्ने लेख्ने काम ?
ओलीले हसाउने काम त गर्छन् नै उनको अर्को प्रमुख काम यो पनि हो कि अध्ययन नगरेर हावाको तालमा भाषण गर्ने हो । ‘खै लगानी आएको ? खै त उद्योग ?’ यसो भन्नेहरूलाई यत्ति चाहिँ भनौं, यस अवधिमा ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्ब ९८ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको छ । विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्ब ८३ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ’ भनेर ओलीले भाषणमा भनेका छन् । र उनको यो भाषण सुनेर धेरै हाँसेका छन् ।
तर साँचो कुरा भने अर्कै छ । ११ महिनाअघि ओलीले सत्ता सम्हाल्दा नगद मौज्दात ३०३ अर्ब रुपैयाँ थियो, आज नगद मौज्दात १७९ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको पहिलो छ महिनामा पूँजीगत खर्च ४३ अर्ब रुपैयाँ थियो । यसपालि नगण्य रूपमा बढेर ४६ रुपैयाँ अर्ब पुगेको छ । वैदेशिक व्यापारको स्थिति भयावह छ, अघिल्लो वर्ष पहिलो छ महिनामा ७ अर्ब रुपैयाँ रहेको शोधानान्तर घाटा ६४ अर्ब रुपैयाँ पुगेको छ ।
देशवासीको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री आत्मरतिमा मात्रै रमाउने काम गरे । बलात्कारका घटनाका विषयमा प्रधानमन्त्री मौन बसे । निर्मला पन्त मात्रै हैन, यस बीचमा कैयौं बलात्कारका घटनाहरू भए तर गृह प्रशासन र प्रहरी प्रशासनले नैतिक जिम्मेवारी लिन मानेन । बरू कुतर्क गरेर बसिरह्यो । विद्युतीय शासनको युग भनेर भनियो तर खानेपानीको, बिजुलीकै महसूल तिर्न जाँदा अहिले पनि घण्टौंसम्म लामो लाइनमा बस्नुपर्छ । सवारीसाधनको सिन्डिकेट तोड्न भन्दै प्रहरीले नयाँ बसपार्कमा बस व्यवसायीले टाँगेका बोर्ड निकालेर मिल्काइदियो । यसको प्रचार सरकारले नै व्यापक रूपमा गर्यो, जनताबाट वाहवाही पनि बटुल्यो तर अहिले पनि बसपार्कमा गएर हेर्नुहोस् त्यहाँ झन् नयाँ चम्किला बोर्डहरू झुन्ड्याइएका छन् । यात्रुलाई सास्ती भने उही पुरानै छ ।
जनताले मेलम्चीको पानी पिउन पाउँछन् भनेर सपना देखाएको दशकौं भयो । ओली सरकारले त अब पक्का भन्यो । आखिरीमा इटालियन ठेकेदार किन भाग्यो ? भनिन्छ, कमिसन बुझाउन नसकेर ठकेदार भाग्यो । अख्तियारका एकजना लाजनारायण नामका आयुक्तले घूस लिएको भिडियो चार महिनाअघि नै बालुवाटारमा हेरेर बस्ने तर भ्रष्टाचारीको मुखै हेर्दिनँ भनेर भाषण गर्ने ओलीज्यूलाई यो कुरा थाहा छ कि छैन मेलम्चीको पानी त आएन, आएन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत् परियोजनाबाट असारमा आउने भनिएको बिजुली पनि आएन । मेलम्चीको पानी र तामाकोशीको बिजुली नआउनुमा को को दोषी ? कुन कुन गिरोहको संलग्नता छ ? त्यो जनतालाई जानकारी दिनुपर्छ कि पर्दैन ? खाली प्राविधिक कुरा गरेर मात्रै हुन्छ र ?
त्यसैले खाली हसाउने र हसाउन नसकेको बेलामा हचुवाको भरमा विना अध्ययन, विना आँकडा भाषण गर्नुभएन प्रधानमन्त्रीले । प्रधानमन्त्री भनेको चौतारामा बसेर पल्लो गाउँका तरुनीहरूको बात मारेजस्तो धन्दा हैन । प्रधानमन्त्री पदको गरिमा छ । उखानटुक्काले गरीबहरूको भोको पेट भरिन्न, न स्यालहुइयाँहरूको जीविका नै सधैं चलिरहन्छ । ३० मिनेटको भाषणमा २० मिनेट उखानटुक्का मात्रै सुनाउने हो भने बरू उखानटुक्काको भण्डार नामक शीर्षकमा किताब नै प्रकाशन गरौं । आखिरीमा स्काउटले पत्रिकाको पहिलो पानामा विज्ञापन छाप्दिन्छ नै । केको फिकर ?
जे होस्, भाषण होस् त प्रचण्डको जस्तो ।
उनले हालसालैको एक भाषणमा भनेका छन्, ‘माओवादीलाई भित्तैमा पुर्याउने काम गरिन्छ र यो सकियो अब भन्ने ठानिन्छ भने हेक्का रहोस् यहाँ झन् ठूलो माओवादी जन्मिन्छ । यहाँ बबाल हुन्छ, रक्तपात हुन्छ । विचार पुर्याइयोस् !’