
धनगढी – जिल्ला समन्वय समिति कैलालीमा स्थापना गरिएको निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ ।
हाल पूर्वाधार विकास कार्यालय कैलाली मातहत रहेको करोडौं बजेटमा स्थापना गरिएको प्रयोगशाला प्रयोगविहीन भएको हो ।
पूर्वाधार निर्माण गर्दा माटो, गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको गुणस्तर अनिवार्य जाँच गर्नुपर्ने हुन्छ । तर प्रयोगशाला हुँदाहुँदै पनि जिल्लामा विना जाँच विभिन्न संरचनाहरू धमाधम निर्माण भइरहेका छन् ।
जिल्ला समन्वय समिति कैलालीका निमित्त अधिकृत योगेन्द्र ओझाका अनुसार २०६१ सालमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रित परियोजना (आरएआईडीपी) र राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी)को सहयोगमा प्रयोगशाला निर्माण गरिएको थियो । तर प्रयोगशाला सञ्चालनको जिम्मेवारी हेरफेर र कर्मचारी अभावले प्रयोगशाला प्रयोगविहीन बनेको उनले जानकारी दिए ।
प्रयोगशालामा गिट्टीको क्षमता जाँच्ने, गिट्टीको भार थाम्ने क्षमता, गिट्टीको क्रसिङ भ्यालु, माटोको प्लास्टिसिटी र ढलानमा प्रयोग हुने मसलाको ‘कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेस्ट’ गर्न सकिने निमित्त अधिकृत ओझाले बताए । पक्की पुल, ठूला भवन निर्माण, कालोपत्रे, सडक ग्राभेल गर्दा यसमा लाग्ने सामग्रीको गुणस्तर मापन गरिन्छ ।
निर्माण आयोजनालाई निर्माण सामग्री जाँच गर्नुपर्ने अनिवार्य गरेमा काम पनि गुणस्तरीय हुने र राजस्व पनि उठ्ने निमित्त अधिकृत ओझाले बताए । तर प्रयोगशाला नै प्रयोगविहीन बनेपछि निर्माण भइरहेका आयोजनाको गुणस्तर मापन पनि नभएको र प्रयोगशाला सेवाबाट आउने सम्भावित राजस्व पनि उठ्न छोडेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य पूर्णा जोशीले भौतिक पूर्वाधारको गुणस्तर अनुगमनका लागि आवश्यक व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई लेखि पठाएको र यस्ता प्रयोगशाला सञ्चालनमा आउनुपर्ने बताइन् ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले प्रयोगशाला सञ्चालनको तयारीमा रहेको जानकारी दिए । प्रयोगशाला कार्यविधि बनाइसकेकोले केही समयभित्रै आवश्यक जनशक्तिसहित प्रयोगशाला सञ्चालनको तयारीमा रहेको सभापति थापाले बताए ।