काठमाडौं - महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिमा त्यसको तयारी तीव्र गतिमा भइरहेको छ । मन्दिर क्षेत्र वरिवरि रंगरोगन तथा सरसफाइको काम अघि बढेको छ । केही पदमार्ग मर्मत भइरहेका छन् ।
पशुपति क्षेत्र विकास कोषले तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने र स्वयंसेवक संस्था छनौट गर्ने कार्य समेत गरिसकेको कोषका प्रवक्ता एवं मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानाले जानकारी दिए ।
महाशिवरात्रिका लागि कोषले विभिन्न ८ वटा उपसमिति गठन गरेको छ, जसमा सुरक्षा/दर्शन व्यवस्था, चन्दन, मन्दिर प्रांगण तथा रात्रिकालीन व्यवस्था, आवास तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त सेवा एवं धार्मिक कार्यक्रम, स्वास्थ्य, वातावरण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्था, प्रचारप्रसार व्यवस्था, लाइटिङ तथा साजसज्जा व्यवस्था र स्वयंसेवा परिचालन, अनुगमन तथा पास व्यवस्था उपसमिति गठन गरिएको छ ।
साथै स्वयं सेवा गर्न इच्छुक स्वयंसेवी संस्थाहरू सूचीकृत गर्ने काम समेत सम्पन्न भएको कोषले जनाएको छ । गतवर्ष करीब ४ हजार सन्यासी पशुपति दर्शनका लागि आएकोमा यसपटक बढ्न सक्ने कोषको अनुमान छ ।
भारतको इलाहावादको कुम्भ मेला भर्खरै सकिएकाले त्यहाँ सहभागी भएका सन्यासीहरू सोझै आउन सक्ने हुँदा सहभागीको संख्या बढ्न सक्ने अनुमान कोषले गरेको हो ।
पर्वमा सहभागी हुनेहरूलाई आवश्यक खाना तथा आवासको सम्पूर्ण व्यवस्था भइसकेको र आगो बाल्नका लागि गुठी संस्थानसँग समन्वय गरी दाउराको समेत व्यवस्था गरिएको कोषले जनाएको छ ।
कूटनीतिक नियोगका व्याक्तिहरू, राज्यका विशिष्ट व्यक्तिहरू, अपांग र असक्तहरूलाई राम मन्दिरतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइँदै छ ।
दर्शनार्थीहरूका लागि पासको व्यवस्था भने यसपटक नरहेको कोषले जनाएको छ ।