
बुटवल – अस्पतालमा बिरामी उपचार गर्न आउँछन् । चिकित्सकले चेकजाँच गरेपछि औषधि लैजान्छन् ।
तर बुटवलमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय विगत २ महिनादेखि औषधिविहीन भएको छ । औषधि नहुँदा स्थानीय तहदेखि प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन । जसले गर्दा उपचारमा आउने बिरामी औषधि विना नै फर्किनुपर्ने बाध्यता छ ।
पुराना लुम्बिनी औषधालयमा दैनिका ६० देखि ६५ जना बिरामीहरू उपचारमा आउँछन् । औषधालयका प्रमुख डा. नलिननाथ तिवारीले अहिले औषधालयमा अस्पतालले आफैं उत्पादन गरेको अमृता चूर्णबाहेक कुनै पनि औषधि नभएको बताए ।
‘हामीले औषधालयबाट २३ प्रकारका औषधिहरू बिरामीलाई दिँदै आएपनि अहिले सबै औषधि सकिएका छन्,’ तिवारीले भने, ‘हामीलाई जम्मा ३ लाख रूपैयाँ मात्र औषधि किन्नका लागि पैसा छ । त्यो रकमले ५० दिनलाई मात्र औषधि किन्न पुग्छ । अनि हामीले कसरी वर्षभरलाई बिरामीको लागि औषधि पुर्याउन सक्छौं ।’
अस्पतालमा आउने हरेक बिरामीले निःशुल्क औषधि पाउने व्यवस्था छ । विगतका वर्षहरूमा स्वास्थ्य मन्त्रालयबाट औषधी आउने भएपनि यस वर्ष स्थानीय तहबाट आउने भनिएपनि निकै कम बजेट आएको बताए । २०४८ सालमा औषधालय स्थापना भएको हो ।
औषधालयले आफैं जडिबुटी ल्याई आयुर्वेद औषधि समेत बनाउँदै आएको छ । औषधालयले बासा चूर्ण, निम चूर्ण, अर्जुन छाल चूर्ण, अदुम्बर चूर्ण, गुडुची चुर्ण, भुम्याक्लकी चूर्ण लगायतका औषधि जडीबुटी खरिद गरी बनाउने तथा अमियतिकर चूर्ण, सितोपलाकी चुर्ण, त्रिफला चूर्ण, आयलकी चूर्ण, त्रिकदु चूर्ण लगायतका चूर्ण औषधालयले बनाउँदै आएको छ ।
प्रदेश सामाजिक विकास महाशाखा प्रमुख डा. उमाशकरप्रसाद चौधरी प्रदेशमा रहेका २ औषधालय लुम्बिनी आयुर्वेद चिकित्सालय, राप्ती आयुर्वेद चिकित्सालय र ८ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रदेश सामाजिक विकास मन्त्रालयले ४ लाख रूपैयाँ विनियोजन गरेको बताए ।
‘हामीले औषधिको लागि खरिद ऐन अन्तर्गत टेन्डर गरेर औषधि पठाउँछौं,’ उनले भने । औषधालयमा निको नभएका ग्यास्टिक, पिनास, हेपाटाइटिस, बाथ, पायल्स, महिलाका प्रजनन् समस्यालगायत बिरामी बढी मात्रामा आउने गर्छन् ।
आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढेपनि समयानुकूल सेवा विस्तार र औषधि उपलब्ध नहुँदा आयुर्वेद औषधालय प्रभावहीन बन्दै गएको बुटवलका रमेश केसीले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका आयुर्वेद औषधालयका लागि औषधि खरिद गर्न ४९ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
अब टेण्डरमार्फत खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जनाइएको छ । औषधालयमा ६ जनाको दरबन्दी छ । बुटवल उपमहानगरपालिकाले पनि अस्पतालका लागि १ जना प्राविधिक खटाएको छ ।