
काठमाडौं — भियतनामको राजधानी हनोईमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको शिखरवार्ता कुनै सहमति वा संयुक्त वक्तव्य विना नै टुंगिएको छ ।
संयुक्त दिवाभोज र अपेक्षित संयुक्त वक्तव्य हस्ताक्षर समारोह दुवैलाई रद्द गरिएको थियो ।
ट्रम्प र किम दुवै शिखरवार्ता भएको स्थानबाट आआफ्नै होटलमा फर्केका छन् । ‘दुई नेताले आणविक निःशस्त्रीकरण र आर्थिक अवधारणालाई अघि बढाउने विभिन्न तरिकाका विषयमा छलफल गरे,’ ह्वाइट हाउस प्रवक्ता साराह स्यान्डर्सले लिखित वक्तव्यमा बताइन् ।
‘यस शिखरवार्तामा कुनै सहमति नभए पनि दुवै पक्षले भविष्यमा फेरि भेटघाट गर्ने अपेक्षा गरेका छन् ।’ ट्रम्पले गर्ने भनिएको पत्रकार सम्मेलन दुई घन्टा अगाडि सारिएको थियो र अमेरिकी राष्ट्रपतिसँग गएका पत्रकारहरूलाई वाशिङटन फर्किने उडानका लागि एयर फोर्स वनमा चढ्न तयार हुन भनिएको थियो ।
ट्रम्प र किमबीचको दोस्रो शिखरवार्तामा ट्रम्पले कुनै किसिमको सहमति हुने अपेक्षालाई कमजोर बनाएपछि समस्या आउने लक्षण देखिएको थियो । उनले दुई नेता र दुई देशबीच दीर्घकालीन सम्बन्ध बनाउनमा जोड दिनुपर्ने आग्रह गरेका थिए ।
हनोईको मेट्रोपोल होटलमा दुवै नेताको हाउभाउ गम्भीर थियो तर दुवैले भविष्यमा सुसम्बन्धको आशा गरेको बताए ।
आणविक निःशस्त्रीकरणको मुद्दा जटिल रहेकाले सहमति बन्न बाधा पुगेको देखिन्छ । उत्तर कोरियाका लाथि निःशस्त्रीकरण एक अस्पष्ट शब्द हो । यसले दीर्घकालीन बहुपक्षीय निःशस्त्रीकरण र तनावमा कमीलाई इंगित गर्छ, न कि उत्तर कोरियाको मात्र निःशस्त्रीकरण ।
ट्रम्प र किम दुवैको इतिहास हेर्दा उनीहरूले आश्चर्यजनक परिणाम ल्याउने संकेत त पाइन्छ तर बिहीवार बिहानको मूड उत्साहजनक देखिएको थिएन अनि विश्वासको वातावरण बनेको तथा जोखिम न्यूनीकरणको उपाय हासिल भएको विषयमा समेत शंका गर्न सकिन्छ ।
द गार्डियनबाट