
काठमाडौं -‘यहाँ धेरै ठाउँबाट जोगी भेषमा साधुहरू आउँछन् । म नेपाली हो भन्ने चिनुन् भनेर नै भोलेनाथको त्रिशूलमा नेपाली झण्डा लिएर हिँड्ने गर्छु,’ पशुपति मन्दिर परिसरमा भेटिएका एक साधुले भने ।
अरूभन्दा भिन्न देखेर नै कुराकानीका लागि उनको अगाडि गएको थिएँ, म । त्रिशूलमा नेपाली झण्डा बाँधिएको थियो । अन्य साधुहरू बोरा वा कपडा थापेर माग्न बसेका बेला उनी बिलकुल फरक थिए ।
उनको नाम रहेछ, सन्यासी विन्देश्वर दास । कुराकानीका क्रममा थाहा भयो, उनी पशुपतिनाथलाई सहारा बनाएर बस्न थालेको १४ वर्ष जति भयो ।
शिवरात्रिका कारण पशुपति क्षेत्रमा साधुहरूको भीड लागेको छ । उनीहरूको नानाथरी शैली देख्न पाइन्छ । अधिकांशले पैसा मागेरै हैरान बनाउँछन् ।
विन्देश्वर भिक्षा देऊ भनेर कसैसँग माग्दैनन्, दिएको मात्रै लिन्छन् ।
अलिक भिन्न प्रकृतिको देखिएर शायद उनीसँग पर्यटकहरूले फोटो खिचाउने चाहना व्यक्त गर्ने रहेछन् । उनी भन्छन्, ‘फोटो खिच्दा कतिपय पर्यटकले पैसा दिन्छन्, दिएको लिन्छु ।’

सुकुम्वासी परिवारबाट शुरू भएको जीवन
वि.सं. २०३० सालमा राजविराजको एउटा सुकुम्वासी परिवारमा जन्मिएका थिए, उनी ।
विन्देश्वर चार दाजुभाइका साइँला भाइ हुन् । गरीबीका कारण उनी र दाइहरूले साधारण लेखपढ गर्ने अवसर समेत पाएनन् । कान्छा भाइले भने थोरै पढ्न पाए ।
पैतृक सम्पत्ति नभएका कारण आमाबुवाले निकै कष्टसाथ उनीहरूलाई हुर्काए । ‘दैनिक छाक टार्न आमाबुवाले निकै दुखः गर्नुहुन्थ्यो,’ विन्देश्वरले सम्झिए ।
विद्यालय नगएका कारण गाईभैँसी चराउने र फुर्सदका बेला साथीभाइसँग खेल्ने उनको दैनिकी हुन्थ्यो । आमाबुवा भने ज्याला मजदूरीमा जान्थे । ‘मेरी आमालाई साह्रै दुःख थियो,’ विन्देश्वरले भावुक हुँदै स्मरण गरे ।
साधुसँगको भेटले फेरियो बाटो
उनी १६ वर्षका थिए । नजिकैको मन्दिरमा एक साधु आइरहन्थे ।
उनको नाम थियो, श्रीश्रीश्री ८ शुकदेव महाराज । विन्देश्वर उनीबाट प्रभावित भए । १६ वर्षकै उमेरमा शुरू भयो उनको सन्यासी जीवन ।
त्यसपछि आफूलाई ज्ञान प्राप्त भएको उनले सुनाए- ‘मान्छेहरू सम्पत्ति र आफ्नाहरूको मायामा फसेका रहेछन् । लामो समय शुकदेव स्वामीसँग बस्दा सांसारिक ज्ञान प्राप्त गरेँ ।'
सन्यासी मार्गमा हिँडेको कारण उनले विवाह गरेनन् । सम्पत्ति पनि जोडेका छैनन् । दिनको एक छाक खाना र अर्को छाक अन्य सामान्य खानेकुरा खाएर जिविका चलाउँछन् ।
‘बेटा, अरू कतिपय जोगीले दिनभरि भिक्षा मागेर रक्सी तथा मासु खाने गर्छन्, उनीहरूलाई भोलेनाथले एकदिन अवश्य कारवाही गर्नेछन्,’ उनले आशा व्यक्त गरे ।
आरोहअवरोहले जेलिएको सन्यासी जीवन
सन्यासी जीवनमा पनि आरोहअवरोह अनि सुख, दु:ख हुने रहेछ ।
‘सन्यासीको मार्ग धेरै जटिल छ बेटा, यहाँ सधैँ उस्तै हुँदैन । कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ । धेरै दुःख भोगेँ मैले । तर भोलेनाथको कृपाले सबै कुरा ठीक भइरहेको छ ।’
विन्देश्वरका जेठा दाइ पनि सन्यासी छन् । माइला दाइ र कान्छो भाइ गृहस्थ जीवनमा भुलेका छन् ।
घर पनि जानुहुन्छ कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरो यो संसार नै घर भएको छ । तर मायाको कुरा छ । कहिलेकाहीँ दाजुभाइलाई भेट्न जान्छु ।’
पहिले पशुपतिको निःशुल्क आश्रममा बस्थे । त्यहाँबाट भाँडाकुँडा र सरसामान चोरी भएपछि अचेल गौशालामा कोठा भाडामा लिएर बस्छन्, उनी ।
भाडा मासिक ३ हजार छ । भिक्षा मागेरै जसोतसो तिर्छन् ।
उनले नेपाली नागरिकता पनि लिएका छन् । उनी भारतको विभिन्न शहरबाट आएका साधुहरूलाई आफू नेपाली भएको गर्वसाथ सुनाउँछन् ।
उनीसँग नेपाली हुनुको प्रमाण पनि छ । ‘४५ वर्षको उमेरमा नागरिकता बनाएँ, नेपाली भएकोमा गर्व महसूस हुन्छ,’ उनले भने ।
शिवजीको प्रिय वस्तु भनेर गाँजा र भाङ भने खान्छन्, उनी ।
‘रक्सी र मासु खान्नँ, तर गाँजाभाङ भने खान्छु,’ उनले भने, ‘अहिलेसम्म मलाई केही रोग लागेको छैन बेटा ।'
उनलाई बुढेशकालको चिन्ता पनि छैन ।
बुढेशकालको प्रसंग कोट्याउँदा भनिहाले, ‘बेटा जे पर्ला पर्ला । जय शिव शंकर, भोलेबाबा !’