१० असार २०८३, बुधबार
आँटिला युवाको गर्विलो काम

युवा उद्यमी गृहेन्द्र जसले सात प्रदेशमा सप्तरंग छरे

दर्शकलाई मनोरञ्जन, कलाकारलाई मञ्च, समाजलाई सन्देश
फागुन २५, २०७५
युवा उद्यमी गृहेन्द्र जसले सात प्रदेशमा सप्तरंग छरे

काठमाडौं- केही साताअघि देशका सातै प्रदेशका मुख्य शहर सांगीतिक माहोलमा झुमे । 

माघ १८ देखी फागनु २ गते (फ्रेबु्रअरी १ देखि १४)सम्म प्रदेशका मुख्य सहरमा सांगीतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको नाम थियो –सप्तरंगः म्यूजिकल जर्नी २०१९ । 

माघ १८ गते प्रदेश एकको दमकबाट शुरुको कार्यक्रम फागुन २ गते प्रदेश चारको पोखरा पुगेर टुंगिएको थियो । त्यसबीचमा माघ २० गते प्रदेश दुईको जनकपुर, माघ २२ गते प्रदेश तीनको नारायणघाट, माघ २४ गते प्रदेश पाँचको बुटवल, माघ २६ गते प्रदेश छ को सुर्खेत, माघ २८ गते प्रदेश सातको धनगढीमा कार्यक्रम भएको थियो । 

गायक रामकृष्ण ढकालदेखि प्रमोद खरेलसम्म, पशुपति शर्मादेखि गायिका ईन्दिरा जोशीसम्म । त्यस्तै, चर्चित कमेडियन सन्दीप क्षेत्रीदेखि मोडल अञ्जली अधिकारी तथा तेक्वान्दोका राष्ट्रिय खेलाडी दीपक विष्टसम्मले उक्त कार्यक्रममा सहभागिता जनाए र दर्शकलाई नचाए । 

हरेक शहरमा टीमको भव्य भव्य स्वागत गरियो । निशुल्क प्रवेश, आँखैअगाडि चर्चित कलाकार । कार्यक्रममा हजारौं दर्शक ओइरिए । 

कलाकारहरुले दर्शकलाई नचाउनेदेखि पेट मिचिमिची हँसाए । कार्यक्रममा नाँचगान मात्र भएन । एक–अर्को प्रदेशका स्थानीय कला, संस्कृतिको उत्थान र पर्यटन प्रवर्द्धनका कुराहरू पनि भए । सातै प्रादेशिक विशेषतालाई संगीतको माध्यमबाट एकै सूत्रमा बाँध्ने काम गरियो । पर्यटकीय तथा धार्मिक गन्तव्यहरू पहिल्याइयो । स्थानीय कलाकर्मीहरूलाई मञ्चमा उभ्याइयो । कलाकारले नचाए, हँसाए, दुर्लभ किसिमको कार्यक्रम सम्पन्न भयो ।

यसको पछाडि थिए, गृहेन्द्र घिमिरे (वर्ष ३४) । 

गृहेन्द्र पर्दापछाडिका यस्ता व्यक्ति हुन् जसले केही वर्षयता नेपाली कलाकारहरूलाई राम्रो ‘प्लेटफर्म’ दिनुपर्छ भनेर लागिपरेका छन् । गृष्मा ब्रोडकाष्टिङ मिडिया प्रा.लि.का प्रमुख यिनै घिमिरेले सातै प्रदेशमा ‘सप्तरंग’ कार्यक्रम गरेका हुन् ।  

‘सप्तरंग’ फरक कार्यक्रम यस्तो रह्यो

‘म सधैँ आफ्नो क्षेत्रमा केही फरक गरौं भनेर सोच्ने व्यक्ति’– लोकान्तरसँगको कुराकानीको शुरुवातमै गृहेन्द्रले भने, ‘मुलुक प्रादेशिक संरचनामा गइसकेको अवस्थामा सातै प्रदेशलाई कला, संस्कृति र खेलसँग जोड्ने हिसाबले कार्यक्रम गर्ने सोच्यौं ।’ 

उनले प्रत्येक प्रदेशबाट चर्चामा आएका र राष्ट्रिय कलाकारको छवि बनाएका आधारमा एक–एक कलाकार र एउटा प्रदेशको प्रतिनिधित्वमा भने खेलाडी छनोट गरिएको बताए । कलाकार पनि नौलो किसिमको कार्यक्रम गर्न उत्साहित देखिए ।  

अनि शुरू भयो सातै प्रदेशका जनतामाझ एकताको सन्देश दिने किसिमको ‘सप्तरंग’ कार्यक्रम । 

कार्यक्रम निशुल्क थियो । तर खर्चको व्यवस्थापनका लागि विभिन्न ठूला ब्राण्डहरूले  सहयोग गरेका थिए । त्यसैले बजेटको चिन्ता थिएन । 

उनलाई चिन्ता भयो त केवल कार्यक्रम कस्तो रहने हो ? दर्शकको उपस्थिति कति हुने हो ? तर कार्यक्रम हजारौं दर्शकको उपस्थितिमा भव्य भयो । 

पाँच वटा प्रदेशमा मुख्य मन्त्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदेश ३ मा मेयर रेणु दाहाल र प्रदेश पाँचमा मन्त्रीले उद्घाटन गरेका थिए । नेपाल प्रहरीले साथ दिएको थियो ।

प्रत्येक शहरमा ब्याण्ड बाजाका साथ राष्ट्रिय गान बजाएर टीमको स्वागत गरिएको थियो । कार्यक्रमबारे घिमिरेले भने –‘हामीले आर्थिक रूपमा फाइदा होस् भनेर कार्यक्रम आयोजना गरेका थिएनौं । सातै प्रदेशका जनताबीच एकताको सन्देश दिन तथा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले ती प्रदेशलाई चिनाउन कार्यक्रम गरिएको थियो  । कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रह्यो । हाम्रो उद्देश्यमा हामी सफल रह्यौं । कलाकारहरू पनि निकै सकारात्मक हुनुभयो ।’ 

कलाकारको क्रेज लोभलाग्दो 

सात प्रदेशमा पुग्दा गृहेन्द्रले कलाकारको क्रेज लोभलाग्दो पाए । ‘जसरी विदेशमा कार्यक्रम गर्दा नेपाली कलाकारहरूलाई माया गर्छन् । यहाँ पनि त्यस्तै पाएँ,’ उनले भने । 

फ्यानहरूले फोटो बनाएर फ्रेमिङ गरेर कलाकारहरूलाई दिएको देखेको उनले लोकान्तरलाई बताए । उनी भन्छन्, 'कलाकारहरूको लाखौं फ्यानहरू हुनुहुँदोरहेछ ।’ उनले कलाकार र दर्शकसँगको दुरी घटाउन यस्ता किसिमका कार्यक्रमले भूमिका खेल्ने बताए । 

को हुन गृहेन्द्र ?

चितवन स्थायी घर भएका गृहेन्द्र केही वर्ष अघिसम्म इलेक्ट्रिक क्षेत्रमा थिए । विगत पाँच वर्षदेखि भने उनले गृष्मा ब्रोडकाष्टिङमार्फत सांगीतिक कार्यक्रमहरू गर्दै आएका छन् । 
नेपाली कलाकारहरूलाई राम्रो ‘प्लेटफर्म’ दिनुपर्छ भन्ने मान्यताले सांगितीक कार्यक्रम गर्दै आएको गृहेन्द्र बताउँछन् । 

सन २०१२ मा उनी एक कार्यक्रमको शिलशिलामा लण्डन पुगेका थिए । त्यहाँका कार्यक्रममा उनले गायक रामकृष्ण ढकाललाई देखे । स्मरण गर्दै गृहेन्द्र लोकान्तरसँग भन्छन्, 'कलाकारहरू यसरी विदेशसम्म आएर कार्यक्रम गर्नुभएको छ भने मैले नेपालमै उहाँहरूलाई योभन्दा राम्रो प्लेटफर्म दिनुपर्छ भन्ने सोचेँ । अनि नेपाल आएर सांगीतिक कार्यक्रम गर्न थालेँ ।’ 

त्यही उद्देश्यका साथ २०७० सालमा ग्रिष्मा इन्टरटेन्मेन्ट प्रा.लि सञ्चालनमा ल्याए । २०७० सालमै ढकाल सुमधुर साँझ गरे, काठमाडौंको याक एण्ड यति होटलमा । उनी त्यसलाई नेपालकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रमसमेत भन्छन् । त्यसयता उनी निरन्तर यस्तै सांस्कृतिक कार्यक्रम गर्नमा व्यस्त छन् । 

उनको हरेक वर्ष ‘साकुरा नाइट’ हुन्छ जापानमा । अहिले चौथो सिरिज चल्दैछ । दुवैमा प्रत्येक वर्ष ‘शुभयात्रा साँझ’ गर्दै आएका छन् । अष्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशमा पनि उनले कार्यक्रमहरू गर्दै आएका छन् । 

अर्को वर्ष ‘सप्तरंग २’ गर्ने, अन्य इभेन्टलाई निरन्तरता दिने

आउँदो वर्ष पनि सातै प्रदेशमा ‘सप्तरंग २’ कार्यक्रम गर्ने गृहेन्द्रको योजना छ । ‘यसवर्षको कार्यक्रममा पाएको रेस्पोन्सले आगामी दिनमा अझ राम्रो र व्यवस्थित तरिकाले कार्यक्रम गर्ने हौसला मिलेको छ,’ उनी भन्छन्, ‘आगामी वर्ष ‘सप्तरंग २’ कार्यक्रम गर्छौं । प्रदेशमा अहिले गरिएका शहरभन्दा भिन्न शहरमा आयोजना गर्नेछौं ।’ 

उनी आउँदो वर्ष कलाकारहरूले लाइभ म्यूजिकमा प्रस्तुत हुने वातावरणका साथ कार्यक्रमको तयारी गर्ने बताउँछन् । उनले निकट भविष्यमा पञ्चेबाजा र खेलकुद सम्बन्धी ठूला  कार्यक्रमहरू गर्ने तयारी गरेका छन् ।  

उनको गृष्मा ब्रोडकाष्टिङले कलाकारहरूको व्यवस्थापन पनि गर्दै आएको छ । 

‘देश विदेशबाट कलाकार मागेको खण्डमा हामी भिषादेखि त्यहाँसम्म पुर्‍याउने जिम्मा लिन्छौं,’ उनी भन्छन् ।  

‘ब्राण्डिङ’ गर्ने, टिभिसि बनाउने, प्रोडक्सन गर्ने, नयाँ क्षमतावान कलाकारलाई प्लेटफर्म दिने कामहरू पनि गर्दै आएको उनी बताउँछन् । कार्यक्रमहरूको म्यानेजमेन्ट, कार्यक्रमका लागि सामाग्रीको व्यवस्थालगायतका कामहरू गर्दै आएका छन् । 

‘ग्रिष्मा ब्रोडकाष्टिङले वर्षमा ५० वटा बढी सानाठूला कार्यक्रमहरू गरेकै हुन्छ । आजमात्रै काठमाडौंको छायाँ सेन्टरमा कार्यक्रम गर्नका लागि २ वर्षको सम्झौता गर्यौ, –उनले थपे ।  

सांगीतिक कार्यक्रमहरू गर्दै आएका गृहेन्द्रलाई गीतसंगीत कत्तिको मन पर्छ त ? भन्छन् –‘मलाई गीत गाउन आउँदैन तर सुन्न रुचाउँछु । कार्यक्रमहरूमा पनि म अगाडि नै बसेर इन्जोय गरिरहेको हुन्छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्