
काठमाडौं – भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावन्तले मंगलवार २ बजेतिर मुख्यमन्त्रीको शपथ लिएका छन् ।
सावन्तसँगै ११ विधायकले मन्त्री पदको शपथ लिएका छन् । तिनमा महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुधिन धवलिकर र गोवा फरवार्ड पार्टीका अध्यक्ष एवं विधायक विजय सरदेसाई समेत छन् । शपथ लिने अन्य विधायक यसअघि पर्रिकर सरकारमा मन्त्री थिए ।
धवलिकर र सरदेसाईलाई उपमुख्यमन्त्री पद दिइनेछ ।
सोमवार पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी तातेको थियो । आइतवार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमवार निकै राति उनी पार्टी र सहयोगी दलहरूका विधायकको समर्थन पत्र लिएर राजभवन पुगेका थिए ।
पर्रिकरको मृत्युपछि सदनमा भारतीय जनता पार्टीको संख्याबलमा शंका उठेको थियो र एमजीपी अनि जीएफपी पार्टीको समर्थन उसलाई नहुने मानिएको थियो ।
कुल ४० सीट भएको गोवा विधानसभामा अहिले ३६ विधायक छन् । सदनमा कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । एमजीपी र जीएफपीका तीन तीन विधायक छन् र उनीहरूले भाजपालाई समर्थन दिएका छन् । तीन निर्दलीय विधायकको समर्थन भाजपालाई छ ।
सदनमा कांग्रेस सबभन्दा ठूलो दल भएको नाताले संख्याबल आफूसँग भएको दाबी गर्दैथियो । त्यही दाबीका आधारमा कांग्रेसले गोवाकी राज्यपाल मृदुला सिन्हालाई पत्र लेखेर भाजपा नेतृत्वको सरकार भंग गर्न माग गरेको थियो ।
तर कांग्रेसलाई जिल्याउँदै भाजपा नै गोवामा सत्तारूढ रह्यो । शपथग्रहण समारोहमा पुग्नुअघि प्रमोद सावन्तले आफूलाई पार्टीले यो जिम्मेवारी दिएको र कठोर मेहनत गरेर जिम्मेवारी निर्वाह गर्ने बताए ।
बीबीसी हिन्दीबाट