
पोखरा - पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा दुई विदेशी घाईते भएका छन् । मंगलवार पोखराको मौसम अकस्मात बिग्रिएर हावाहुरी चलेसँगै सराङकोटबाट उडेको प्यारासुट खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
ल्यान्डिङ गर्ने क्रममा ओपन स्काई प्याराग्लाइडिङ कम्पनिको प्याराग्लाइडिङ बिजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट चिनियाँ नागरिक एलिस उकरिन र सिंगापुरका याङ गुङ झी घाईते भएका हुन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
गत फागुन २१ गते पनि प्याराग्लाइडिङ दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्यु भएको ४८ घण्टा नपुग्दै पुन: अर्का एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको थियो ।