
काठमाडौं – आज होली, अर्थात् रंगहरूको पर्व । गाउँदेखि शहरसम्म होलीको रंगमा रंगिसकेका छन् ।
होलीले हरेक पेशा व्यवसायका मानिसलाई छोएको छ नै तर कला क्षेत्रसँग यसको सम्बन्ध अझै प्रगाढ छ ।
कलाकारहरूले यस वर्षको होली कसरी मनाइरहेका छन् त ? हामीले केही कलाकारसँग कुराकानी गरेका छौं ।
भुवन केसी, अभिनेता
होली मलाई मनपर्ने पर्व हो । त्यस्तो विशेष योजना त छैन, तर विभिन्न कार्यक्रमबाट निमन्त्रणा आएका छन् । सबैमा उपस्थित हुन भ्याउँदिन होला, किनकी अहिले हलमा हाम्रो फिल्म ‘क्याप्टेन’ लागिरहेको छ ।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग फिल्म हेर्ने र होली मनाउने कार्यक्रम छ । त्यसैको तयारी गर्नुपर्ने छ । दिउँसो परिवार, साथीभाइसँग होली सामान्य होली खेलेपनि साँझको कार्यक्रम विशेष रहनेछ । प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्ति, नायक अनमोल केसी लगायत साँझ ६ बजे सिटी सेन्टरमा पुगेर फिल्म हेर्ने र होलीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ ।
प्रमोद खरेल, गायक
विगतका होली विशेष रहने गरेको भएपनि यस वर्षको होलीमा म रम्न पाउने छैन । बिरामी भएका कारण म विगत एक सातादेखि बेड रेस्टमा छु ।
भाइरल ज्वरो, घाँटी दुख्ने लगायत समस्याले बाहिर निस्कन सकिरहेको छैन । आजको दिन पनि घरमै रेस्टमा रहनेछु । २२ गते पोखरामा भव्य कार्यक्रम हुँदैछ, त्यसैले पनि चाँडो निको हुनुपर्ने छ ।
वर्षा राउत, नायिका
रंगहरूको पर्व होली मलाई निकै मनपर्छ । यस वर्षको होली आउँदै गरेको फिल्म ‘दाल भात तरकारी’ यूनिटसँग बित्नेछ । काठमाडौंका विभिन्न स्थानमा फिल्मले राखेको प्रमोशन कार्यक्रममा सहभागी भई दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछु ।
बद्री पंगेनी, गायक
होलीको दिन म महोत्सवको सिससिलामा कैलाली हुनेछु । सानोसानोमा अलि सभ्य तरिकाले होली खेलिन्थ्यो, आजभोलि होलीमा विकृति देख्छु ।
मैले होलीलाई त्यति धुमधामसँग कहिल्यै मनाउँदिनँ । चाहनाविपरीत पानी छ्याप्ने, लोलाले हान्ने गरेको मलाई मन पर्दैन ।
दीपिका प्रसाईं, नायिका
यस वर्षको होली काठमाडौंमै मनाउनेछु । होलीको विशेषता भनेकै रंगहरूसँग खेल्नु हो । मलाई असाध्यै मनपर्ने चाड होली हो । सानोसानोमा पिच्कारीसँग रमाउँथें । आजभोलि रंगसँग रमाउँछु । प्रत्येक वर्ष साथीहरूसँग रमाइलो गर्दै रंग लगाएर होली मनाउँदै आएकी छु । यस वर्ष त्यस्तो विशेष योजना त छैन, तर आफन्त, साथीभाइसँग बस्ने, रंग लगाउने, रमाइलो गर्ने गरेर बिताउनेछु ।
आँचल शर्मा, नायिका
होली मलाई सानैदेखि मन पर्ने चाड हो । सानैदेखि होली खेल्थें, तर होलीमा घरबाहिर हिँडेको कलाकारितामा आएपछि मात्रै हो । यसवर्ष फिल्म ‘दाल भात तरकारी’ युनिट र दर्शकसँग होली मनाउनेछु ।
फिल्म युनिटसँग स्टेज पर्फमेन्स गर्नेछु । होलीमा सबै जना रंगीन देख्दा मलाई एकदमै रमाइलो लाग्छ ।