०९ साउन २०८३, शनिबार
होली विशेष

जनकपुरमा विशेष होली : मैथिली परम्परा बिर्सेर बाह्य प्रभाव

चैत ८, २०७५
जनकपुरमा विशेष होली : मैथिली परम्परा बिर्सेर बाह्य प्रभाव

जनकपुरधाम – २ नम्बर प्रदेशको राजधानी जनकपुरधामसहित आसपासका गाउँमा शुक्रवार होली पर्व मनाइँदैछ । 

मधेशका अधिकांश जिल्लामा बिहीवार नै होली मनाइएको भएपनि जनकपुरधाममा शुक्रवार होली पर्व मनाइँदैछ । प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

वरिष्ठ साहित्यकार परमेश्वर कापडीका अनुसार मिथिलामा १५ दिने माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृही परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने भएकाले जनकपुरधाममा शुक्रवार मनाइएको हो । जनकपुरधाममा बिहीवार अन्तरगृहि परिक्रमा गरिएको थियो ।

‘तर यसरी मधेशमा २ फरक–फरक दिनमा होली हुनुले पर्वको उत्साह र उमंगमा पनि कमी आउने हुँदा यसतर्फ ध्यान दिनु जरुरी छ,’ प्रा. कापडी भन्छन्, ‘मंगलवार र बिहीवारका दिन माछामासु नखाने कारणले गर्दा पनि कतिपयले बिहीवार होली नमनाएका हुन् ।’

मिथिलामा हुने प्रायः पर्व त्यौहार वैदिक र लौकिक परम्परा अनुसार हुने गरेको छ । विधि विधान अनुसार पूजापाठ गरेर शुभ साइतमा वैदिक परम्परा अनुसार कतिपय संस्कृति छन् भने गीत नाद गाएर, लोक व्यवहार, लोक परम्परा अनुसार मानिने लौकिक संस्कृति पनि छन् । त्यसैले होली पर्व दुवै तरिकाले मिथिलामा मनाउने गरिएको साहित्यकार श्याम सुन्दर शशि बताउँछन् । 

वसन्त ऋतु त्यसै पनि मदमस्त ऋतु भएकाले फागुन महिनामा मनाइने होलीलाई अत्यन्तै उत्सव, हर्ष उल्लासका साथ मनाउने गरिन्छ । अहंकार हटाएर, जातिपातिको भेदभाव हटाएर सबै मानिस एक समान भएर एकआपसमा सद्भाव, भाइचारा बढाउने प्रतीकको पर्व पनि फागु पर्व रहेको प्रा. कापडी बताउँछन् ।

‘फागु त एउटा खेल पनि हो, मिथिलामा मान्छेले बडो श्रद्धा र आस्थाका साथ गीत गाउँदै, जोगिरा गाउँदै, अबिर लगाउँदै धुलो उडाएर खेल्ने अद्भूत पर्व हो,’ कापडीले भने, ‘जे जिवे से खेले फागु अर्थात् यो पर्व त जीवनसँग पनि जोडिएको हो ।’ अहंकार, कुरीति, असम्मतिलाई जलाएर आपसी सद्भावको रुपमा पर्व मनाउने गरिएको उनले बताए ।

लोप हुँदै जोगिरा

मिथिलामा होली खेल्दा विभिन्न बाजागाजाका साथ जोगिरा गाउँदै होली खेल्ने गरिन्छ । वास्तवमा जोगीले जोगिरा गाउने गर्छन् । मिथिला त आदिकालदेखि नै देवीदेवता, साधुसन्त, जोगी, ऋषि भएको स्थल रहेकाले सबै देवीदेउताले खेलेको होलीको कथा नै जोगिरा गाएर भन्ने गरिन्छ । भगवान राम, सीता आदिको कथा गाउँदै जोगिरा गाउने गरेकाले मान्छेले जोगिरा गाएर समेत होली मनाउने गर्छन् । 

श्रीपञ्चमीदेखि होलीसम्म प्रत्येक दिन साँझ आ–आफ्नो दलानमा बसेर भजनकीर्तन गर्दै जोगिरा गाउने परम्परा थियो । तर त्यो जोगिरा संस्कृति भने लोप हुन थालेको छ । पत्रकार समेत रहेका साहित्यकार शशिका अनुसार गाउँगाउँमा रहेको दलानको संस्कृति अन्त्य भएकाले पनि समस्या आएको छ ।

माओवादीले जनयुद्ध शुरू गरेपछि आ–आफ्नो दलानमा सामूहिक रुपमा बस्ने परिपाटी नै अन्त्य भयो । ‘कहिले माओवादी पुगेर त कहिले सेना पुगेर तपाईंहरू यहाँ किन जम्मा भएको भनेर प्रश्न गर्न थालेपछि मान्छे दलानमा सामूहिक रुपमा बस्न नै सकेनन् । त्यसकारण विगतमा गाइने गरिएको जोगिरा लोप भएको छ,’ उनले भने । जनयुद्धको प्रभाव परेपछि एउटा पुस्ताले नै जोगिरा सिक्न पाएनन्, गाउन पाएनन् । 

संरक्षणका केही प्रयास 

जनकपुरधाममा पछिल्लो केही वर्षदेखि मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको पूर्वसन्ध्यामा होली महोत्सव तथा महामुर्ख सम्मेलन कार्यक्रम आयोजन गरेर जोगिरा गाउने, होलीका गीत गाउने प्रतियोगिता नै सञ्चालन गर्दै आएको छ । विभिन्न गाउँबाट होलीका गीत गाउने टोलीलाई बोलाएर प्रतियोगिता गरेर पुरष्कृत गर्ने तथा सम्मानित गर्ने कामको शुरूवात गरेको छ । तर ती टोलीमा पनि अधिकांश ५० वर्षदेखि माथिकै उमेर समूहका मान्छे हुन्छन् । युवा पुस्ता त्यसमा पनि देखिने गरिएको छैन ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकका अनुसार होली गायन प्रतियोगिताले होलीसँगै जोगिरा गाउने परम्परालाई पुनर्जीवन प्रदान गर्न केही हदसम्म सफल भएको छ । अब जनकपुर शहरमा पनि मान्छेले होली गाउन थालेका छन् । ‘बिस्तारै अहिलेको युवा पुस्ताले पनि आफ्नो पुर्खाको गौरव समेतको होली गीत तथा जोगिरालाई सिक्दै जाने प्रा. कापडी बताउँछन् ।

अश्लिलताको प्रभाव तथा विकृति

आफ्नै बाजागाजा ढोल, पिपही, डम्फा बजाएर होलीको गीत गाउनुभन्दा पनि नयाँ पुस्ताले अश्लिल, भद्दा गीतहरू डिजे, लाउड स्पिकरमा बजाएर होली खेल्दा विकृति भित्रिएको प्रा. कापडी बताउँछन् । ‘वैश्विक प्रभाव त जुन कुरामा पनि सर्ने हुनाले मिथिलाको आफ्नै लोक संस्कृति छ, आफ्नै लोक परम्परा रहेको होलीमा अश्लिलता पनि सरेको छ,’ उनले भने ।

साहित्यकार शशि भन्छन्, ‘कुनै पनि गीत संगीतमा जडपन हुनुभएन । समय अनुसार परिमार्जन गर्दै जानुपर्छ ।’ मैथिलीमा बनाइने गीत संगीतमा पनि युवा पुस्तालाई आकर्षित गर्न गीत संगीत बनाउन सकियो भने बाह्यको प्रभावलाई अन्त्य गर्न सकिने उनी बताउँछन् ।

होलीको नाउँमा बिहानैदेखि मदिरा सेवन गरेर लठ्ठ पर्ने विकृति पनि देखिने गरिएको छ । रक्सी सेवन गरेझैं झगडा गर्ने, सवारीसाधन चलाउने गर्दा सवारी दुर्घटना हुने समस्या समेत पछिल्लो समयमा बढेको छ । साहित्यकार शशी यसलाई त अराजकता नै भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्