
काठमाडौं – थाइल्यान्डमा सेनाले सत्ता लिएको पाँच वर्षपछि आइतवार भएको आमनिर्वाचनमा सैनिक पक्षधर राजनीतिक दलले अनपेक्षित अग्रता लिएको छ ।
९० प्रतिशत मतगणना भइसक्दा पालाङ प्रचा रथ पार्टीले लोकप्रिय मतको ७६ लाख भोट पाएको छ । फेउ थाई पार्टीको भन्दा यो पाँच लाख भोट बढी हो ।
फेउ थाइ पार्टी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रासँग जोडिएको छ । शिनावात्राका बफादारहरूले सन् २००१ पछिका सबै चुनाव जितेका छन् ।
आधिकारिक परिणाम सोमवार साँझ सार्वजनिक गरिनेछन् ।
तर जनरल प्रयुत चान ओचाको नेतृत्वमा रहेको पालाङ प्रचा रथ पार्टीले सरकार बनाउने स्थिति छ । प्रयुतले सन् २०१४ मा थाक्सिनकी बहिनी यिङलक शिनावात्रालाई कू गरेर हटाएका थिए ।
हुन त ५ करोड मानिसहरू मतदानका लागि योग्य थिए तर जम्मा ६५ प्रतिशतले मत दिए ।
मतदानमा अनियमितता भएको विषयमा थुप्रै गुनासो आएका छन् र निर्वाचन आयोगले मतपरिणामका विषयमा सुधारिएको आँकडा प्रकाशित गर्ने संकेतहरू पाइएको छ ।
प्रारम्भिक परिणामहरूले ३५० सीटमा भएको निर्वाचनमा फेउ थाइ पार्टी सबभन्दा बढी सीट पाएको संकेत दिएको छ । थप १५० सीट चाहिँ प्रत्येक दलले राष्ट्रव्यापी रूपमा ल्याएको भोट शेयरका आधारमा जटिल सूत्र लगाएर बाँडिनेछ ।
सैन्य सरकारले मतदान प्रणालीमा परिवर्तन गरेकाले फेउ थाइ पार्टीले सरकार बनाउने सम्भावना छैन ।
बीबीसीबाट