०३ असार २०८३, बुधबार

पोखरामा नयाँ वर्षमा फेवा महोत्सव हुने

चैत १४, २०७५
पोखरामा नयाँ वर्षमा फेवा महोत्सव हुने

पोखरा-आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा फेवा महोत्सव हुने भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २९ देखि वैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गरिने भएको छ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई मध्यनजर गर्दै होटल संघको अगुवाईमा १६ औं फेवा नव वर्ष महोत्सवको आयोजना गरिएको हो । 

प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल तुल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने हेतुले तीन दिने फेवा महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार नेपाली कला संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा विशेष गरी विभिन्न २५ प्रकारका खानाको स्वाद लिन पाइने छ ।

सेफ एशोसियसनसँगको सहकार्यमा विभिन्न प्रकारका खानाहरूको महोत्सवमा व्यवस्था मिलाउन लागिएको अध्यक्ष तुलाचनले जानकारी दिए । 

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलको अकुपेन्सी उत्साहजनक नभएको बताउँदै महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने बताए ।

‘पर्यटकीय सिजन शुरू भएपनि होटलहरूमा अकुपेन्सी सन्तोषजनक छैन,’ उनले भने, ‘यस्तो अवस्थामा केही हदसम्म व्यवसायीलाई राहत मिल्ने छ ।’

नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रवर्द्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले सञ्चालन गर्न लागिएको पराजुलीले सुनाए ।

आयोजकले महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । 

यसैगरी आमा समूह बीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ । 

नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउनेछन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए । 

डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पर्यटक दौड, डुंगा दौड, लोक दोहोरीका कार्यक्रम, बाल उद्यान र पप कन्सर्टजस्ता आकर्षण पनि महोत्सवले समेट्ने छ ।

महोत्सव सञ्चालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरू गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्