
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दलसहितको गठबन्धनले लोकसभा निर्वाचनमा ३०० भन्दा बढी सीट जित्ने दाबी गरेका छन् । जनताले मोदीलाई सबभन्दा धेरै सीट दिने फैसला गरिसकेको उनको भनाइ छ ।
एक टीभी च्यानलसँग कुराकानी गर्दै उनले सन् २०१९ को चुनावमा आफ्नो सामना गर्ने कोही पनि नभएको बताए । सन् २०२४ मा चाहिँ मोदीविरुद्ध जोकोही पनि हुन सक्ने उनले भने ।
कांग्रेसले चुनावमा अनेकथरी वाचा गरेर नौजवानहरूलाई लुटेको उनको भनाइ छ । ‘नेहरु पनि गरीबीको कुरा गर्थे, इन्दिरा पनि गरीबीको कुरा गर्थिन्, राजीव पनि त्यसै भन्थे, अब पाँचौं पुस्ता पनि गरीबीको कुरा गरिरहेका छन् ।
सर्वोच्च अदालतका मुख्य न्यायाधीशविरुद्ध महाभियोग लगाउने, मिडियामा प्रतिबन्ध लगाउने र संकटकाल घोषणा गर्ने मानिसहरूले मलाई ज्ञान नदिऊन् ।’
आफूले सम्भ्रान्तको कब्जामा रहेको दिल्लीलाई देशभरि पु–याएको उनको दाबी छ ।
रोजगारीको मुद्दामा विपक्षीहरूले लगाएको आरोपको प्रत्युत्तर दिँदै मोदीले सडक बनाउनेहरू पनि रोजगार भएको बताए । बेरोजगारीका विषयमा अटल बिहारी वाजपेयी सरकारका विषयमा गलत प्रचार गरिएको अनि कांग्रेसले आँकडा प्रस्तुत नगरिकन जनतामा भ्रम फैलाएको बताए ।
विपक्षीको महागठबन्धन नचल्ने उनको भनाइ छ । मनोनयन प्रक्रियापछि विपक्ष थप टुक्रिने उनको दाबी छ ।
तर देश सहमतिमा चलाउनुपर्ने बताउँदै उनले सन् २०१९ मा सरकार बनाएपछि आफूहरूले विरोधी पार्टीलाई सँगै लिएर अघि बढ्ने बताए ।
एजेन्सी