
काठमाडौं – ब्रुनाईमा अर्को हप्तादेखि विवाहेतर र समलैंगिक सम्बन्ध अपराध ठहर हुने र अपराधीलाई ढुंगाले हानेर मार्ने कठोर शरिया कानून लागू हुने भएको छ । उक्त कानूनको भारी आलोचना भएपछि त्यसलाई चार वर्षसम्म विचाराधीन अवस्थामा राखिएको थियो ।
बुधवार उक्त कानूनको घोषणा गरिएपछि अधिकारवादी समूहहरू स्तब्ध भएका छन् । स्रोतसाधनमा धनी ब्रुनाईले छिमेकी मलेसिया र इन्डोनेसियामा भन्दा बढी कठोर किसिमको इस्लाम अनुसरण गर्ने गरेको छ ।
सुल्तानको राज रहेको ब्रुनाईले यो फौजदारी संहिता अर्को बुधवारदेखि लागू गर्ने भएको छ । ब्रुनाईमा चोरीको अपराधमा हात र गोडा काट्ने सजायको व्यवस्था छ ।
हुन त समलैंगिकता ब्रुनाईमा अवैध छ तर अब यो मृत्युदण्ड पाइने कसूर बनेको छ । यो कानून मुसलमानमाथि मात्र लागू हुन्छ ।
चोरीको अपराधमा पहिलोपटकको कसूरमा दायाँ हात काट्ने र दोस्रोपटकको कसूरमा देब्रे गोडा काट्ने सजाय छ ।
एम्नेस्टी इन्टरनेसनलले ब्रुनाईलाई यी नयाँ दण्डको व्यवस्था तत्कालै रोक्न आग्रह गरेको छ ।
एजेन्सी