०२ असार २०८३, मंगलबार
अभिनय यात्रा

फिल्ममा सलिनमान : जिरोबाट बने हिरो !

चैत १६, २०७५
फिल्ममा सलिनमान : जिरोबाट बने हिरो !

काठमाडौं – सुकिलो–मुकिलो ज्यान । चकलेटी अनुहार । आकर्षक ड्रेसअप अनि भिन्न हेयर स्टाइल । बाहिरी आवरणमा सलिनमान बनिया यसै ‘हिरो’ लाग्छन् ।

संख्याको हिसाबले उनले मात्र २ फिल्म खेलेका छन् । गत वर्ष प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ र प्रदर्शनको तयारीमा रहेको ‘यात्रा’ । तर सलिनमानको युवा पुस्तामाझ क्रेज र फ्यान फलोइङ लोभलाग्दो छ ।
फिल्ममा जिरोबाट हिरो !

सलिनमानको पारिवारिक पृष्ठभूमि व्यवसाय हो । सलिनमानको रुची पनि व्यवसायमै हो । अझ ठूलो व्यवसायी बन्ने । उनका लागि कल्पना बाहिरको कुरा थियो – फिल्ममा हिरो बन्नु ।

न सलिनमानले अभिनय सिकेका थिए, नृत्यमा भने उनको बाल्यकालबाटै रुची थियो । अचानक अभिनेत्री झरना थापाले उनलाई फिल्म ‘ए मेरो हजुर २’मा अफर गरिन् । 

शुरूमा त सलिनमान साइड लाग्न खोजेका थिए । ‘मलाई अभिनयको ज्ञान नै थिएन । त्यसैले शुरूमा राजी थिइन्,’ लोकान्तरसँगको कुराकानीमा सलिनमान सम्झन्छन्, ‘तर उहाँमा नृत्य गर्नेले अभिनय गर्न सक्छन् भन्ने विश्वास रहेछ ।’ झरनाले सलिनमानलाई फिल्मका लागि हौसला प्रदान गरिन् ।

सलिनमानले अडिसन दिए । फिल्ममा अनुबन्धित भए । ‘ए मेरो हजुर २’ निर्माण भयो । प्रदर्शनमा आयो । सलिनमान छक्क परे । कारण – उनले पहिलो फिल्मबाट अपेक्षाभन्दा धेरै गुणा माया पाए । पहिलो फिल्मबाटै सलिनमानले दर्शकमाझ लोभलाग्दो क्रेज बनाए । फ्यान फलोइङ बढाए ।

फिल्म खेल्न साह्रै गाह्रो !

सलिनमानले पहिलो फिल्मबाटै ‘नेम र फेम’ दुबै पाए । तर उनलाई फिल्म खेल्नु साह्रै गाह्रो काम लाग्यो । सलिनमानले सोच्न समेत भ्याइसकेका थिए – अब फिल्म यात्रालाई पूर्णविराम लगाउँछु ।

उनी काठमाडौंमा सम्पन्न परिवारमा जन्मे, हुर्के । सर्लक्कको बाटोमा हिँड्ने सलिनमानलाई सुटिङमा उकालो–ओरालो हिँड्नुपर्यो । ‘ए मेरो हजुर २’को केही भाग मनाङको तिलिचोमा सुटिङ भयो । सलिनकै भनाईमा त्यहाँ उनले आफ्ना लागि धेरै गाह्रो परिस्थिति झेल्नुपर्यो ।

‘शौचका लागि जंगलतिर दौडिनुपर्ने । लगातार सुटिङ गर्नुपर्दा म एकदमै थाकेको थिए,’ उनी सुनाउँछन्, ‘त्यही कारण त मैले ए मेरो हजुर २ पछि कुनै पनि फिल्म साइन गरेको थिएन ।’

'दर्शकको मायाले फिल्म छाड्न सकिनँ'

फिल्म अभिनयलाई पूर्णविराम लगाउने सलिनमानको सोच धेरै समय टिक्न सकेन । दर्शकले देखाएको मायाले आफूलाई फिल्म क्षेत्रबाट टाढिन नदिएको उनले बताए ।

केही पहिलेसम्म सामान्य जीवन बिताएका सलिनमानलाई नचिनेका मानिसले पनि नामले बोलाउन थाले । नचिनेका मानिसहरू फोटो खिचौं भन्दै नजिकिन थाले । कतिले त अर्को फिल्म कहिले आउँछ भनेर प्रश्न तेस्र्याउन थाले । 

‘दर्शकको यस्तै मायाले मैले अरु फिल्म पनि गर्नुपर्छ भन्ने सोच बनाए,’ सलिनमान हाँस्दै सुनाउँछन्, ‘केही फिल्मको स्क्रिप्ट चित्त बुझ्दो नभएर खेलिनँ । लगत्तै यात्राको कथा, निर्माण टीम मनपर्यो र अभिनय गरें ।’

सलिनमानको चाहना

सलिनमानलाई धेरैले ‘स्टाइलिस’ कलाकार भन्छन् । उनी स्वयंम भन्छन््, ‘दर्शकले मेरो भिन्न गेटअप, हेयर स्टाइललाई बढी मन पराउनुहुन्छ ।’ तर सलिनमान ‘स्टाइलिस’ कलाकारसँगै अभिनयका कारण पनि दर्शकमाझ चिनिन चाहेको बताउँछन् । 

उनी आउँदा दिनमा आफ्नो अभिनयको पनि चर्चा हुने बताउँछन् । भन्छन्, ‘म त अहिले धेरै कुराहरू सिकिरहेको छु । आउँदा दिनमा नयाँ कुराहरू सिक्दै भएका कमी–कमजोरी सुधार्दै अगाडि बढ्ने छु ।’

‘यात्रा’बाट आशावादी

सलिनमानको दोस्रो फिल्म हो – यात्रा । फिल्मलाई लिएर उनी निकै आशावादी छन् । ‘आफूले गरेको मेहनतको प्रतिफल आउने बेला भएको छ । एकदमै उत्साहित छु,’ सलिनमान सुनाउँछन् । 

यात्राकै कथामा फिल्म निर्माण गरिएको छ । फिल्मभित्र सलिनमान ‘भ्लगिङ टीम लिडर’को भूमिकामा छन् । ‘फिल्मभित्र धेरै कन्टेन्टहरू छन्,’ उनी भन्छन्, ‘एक्सन, इमोसनल, स्याड सबै कुराहरू समावेश छन् । दर्शकले फिल्म हेरिरहँदा शुरूदेखि अन्त्यसम्म इन्टरटेन लिनुहुनेछ ।’

सलिनमान थप्छन्, ‘यात्रामा लागेपछि मैले अन्यत्र ध्यान दिएको छैन, त्यसैले फिल्मलाई लिएर धेरै नै आशावादी छु ।’

‘यात्रा’पछिको यात्रा कता ?

सलिनमानले आउँदा दिनमा फिल्म पनि खेल्नु छ अनि व्यवसायलाई पनि निरन्तरता दिनुछ । ‘छनोट गरेर मात्र फिल्म खेल्छु । अनि बिजनेशलाई पनि सँगसँगै लैजान्छु,’ सलिनमान योजना सुनाउँछन् । यद्यपि दुवै क्षेत्रमा आफूले सिक्ने क्रम चलिरहेको उनी बताउँछन् ।

सलिनमान स्वास्थ्यप्रति सचेत छन् । व्यायाम गर्ने, पानी धेरै पिउने, शरीर व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिन्छन् । हरेक पटक आफूलाई फरक स्वरुपमा देखाउन प्रयत्न गर्छन् । बिहान ७–८ बजे उठ्छन् । साँझ ९–१० बजेसम्म घरमा पुगिसक्छन् । उनको फेसबूक लगाव भने अलि कम छ ।

‘फेसबूकभन्दा इन्टाग्राम धेरै चलाउछुँ,’ सलिनमान भन्छन्, ‘फेसबूकमा धेरै कुराहरू गज्याङ–गुजुङ लाग्छ । धेरै कुराको मार्केटिङ भइरहेको हुन्छ नि !’

salt training

कमेन्ट गर्नुहोस्