
काठमाडौं – भ्रष्टाचारविरोधी नारा लिएर लडेकी जुजाना कापुतोभा स्लोभाकियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी भएकी छन् । उक्त देशमा महिला राज्यप्रमुख हुन लागेको यो पहिलोपटक हो ।
कापुतोभासँग खासै राजनीतिक अनुभव छैन तर उनले उच्च ओहदाका कूटनीतिज्ञ मारोस सेफ्कोभिचलाई दोस्रो चरणको मतदानमा पराजित गरेकी हुन् ।
उनले यो निर्वाचन असल र खराबबीचको द्वन्द्वका रूपमा वर्णन गरेकी थिइन् ।
खोज पत्रकार यान कुसियाकको हत्या भएको एक वर्षपछि यो निर्वाचन सम्पन्न भएको हो । कुसियाकले राजनीतिकर्मी र संगठित अपराधबीचको सम्पर्क खोज्ने क्रममा उनी र उनकी प्रेमिकालाई सन् २०१८ को फेब्रुअरीमा गोली हानी हत्या गरिएको थियो ।
आफू राष्ट्रपति पदमा लड्ने एक कारण कुसियाकको मृत्यु पनि भएको कापुतोभाले बताइन् । तर स्लोभाकियामा राष्ट्रपतिको कार्यकारी अधिकार हुँदैन ।
सबै मतगणना भइसक्दा उनले ५८ प्रतिशत मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी सेफ्कोभिचले ४२ प्रतिशत मत पाए ।
वकिलका रूपमा उनले १४ वर्षसम्म चलेको एक मुद्दाका कारण प्रसिद्धि पाएकी थिइन् । अवैध रूपमा फोहरमैला फ्याँक्ने ठाउँ सञ्चालन गरिएको मुद्दामा उनी लडेकी थिइन् ।
उनी ४५ वर्षकी भइन् र दुई सन्तानकी आमा हुन् । उनी उदारवादी प्रोग्रेसिभ स्लोभाकिया पार्टीकी सदस्य हुन् । उक्त दलले संसदमा कुनै पनि सीट जितेको छैन ।
समलैंगिक विवाह र धर्मपुत्रपुत्री ग्रहणलाई वैध नमानिने मुलुकमा उनको उदारवादी दृष्टिकोणले तेस्रोलिंगीका अधिकारको प्रवर्द्धन गर्छ ।
उनले पराजित गरेका उम्मेदवार सेफ्कोभिच युरोपेली आयोगका उपाध्यक्ष हुन् ।
बीबीसीबाट