०९ असार २०८३, मंगलबार

भृकुटीमण्डप भित्रका व्यापारीको व्यवसाय नवीकरण

भृकुटीमण्डप भित्रका व्यापारीको व्यवसाय नवीकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपभित्र त्रिपालमुनि सञ्चालनमा रहेका मध्यम व्यापारीको व्यवसाय नवीकरण थालेको छ । कामपा वडा नं २८ ले काठमाडौँ निम्न व्यापारी सङ्घसँगको सहकार्यमा उक्त कार्यको थालनी गरेको हो ।   

कामपामा करका परिवर्तित दर, कर सङ्कलनको क्षेत्र, कर प्रशासन, करदाता र सेवा प्रदायकका दायित्व तथा जिम्मेवारीका विषयमा छलफल भएपछि उक्त काम थालेको कामपाको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो ।   

त्यस क्षेत्रको बहाल कर लिँदा व्यापारीले समाज कल्याण परिषद्मा बहाल बुझाएको नगदी रसिदमा उल्लेख भएको रकमलाई आधार लिइन्छ भने व्यवसाय करतर्फ व्यवसायको प्रकृतिका आधारमा आर्थिक ऐनमा उल्लेख भएबमोजिमको रकम लिइन्छ ।

भृकुटीमण्डपभित्रको चाइना मार्केटका नामले जनसाधारणमा परिचित नीलो त्रिपालमुनि भएका ७३२ वटा व्यवसाय वडामा दर्ता छन् । वडासचिव सुशील कुँवरका अनुसार यीमध्ये गएको आर्थिक वर्षमा ५८२ व्यापारीले व्यवसाय नवीकरण गराएका थिए । जसमा व्यवसाय करतर्फ करीब रु नौ लाख १४ हजार र बहाल करतर्फ करीब रु पाँच लाख लाख ८६ हजार गरी करीब १५ लाख राजस्व सङ्कलन भएको थियो । 

भृकुटीमण्डपको नीलो त्रिपालमुनि तयारी कपडा, जुत्ता चप्पल, भाँडाकुँडा, झोलालगायतका घरायसी सामान पाइन्छन् । यसबाहेक खाजा पसल तथा रेष्टुरेन्ट गरी करीब १०० वटा अन्य व्यवसाय र सङ्घसंस्था छन् । त्रिपालमुनि चलेकाबाहेक अन्य व्यवसायको तथ्याङ्क सङ्कलन भइरहेको जनाउँदै वडासचिव कुँवरले सबै व्यवसायीलाई करको दायरामा ल्याउने बताउनुभयो । 

यसबाहेक त्यस क्षेत्रमा भएका सङ्घसंस्थाले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुर संस्था दर्ता नवीकरण सिफारिश गर्ने समयमा लिने गरिएको छ । छलफलका क्रममा काठमाडौँ निम्न व्यापारी सङ्घका महासचिव लीलानाथ दाहालले कर तिरेपछि खानेपानी र फोहर व्यवस्थापनको जिम्मेवारी महानगरले बहन गर्नुपर्ने माग राख्नुभएको थियो 
 

salt training

कमेन्ट गर्नुहोस्