०३ असार २०८३, बुधबार
नायकमाथि नजर

अनमोलको जीवनशैली : रक्सी–चुरोट र माछामासु खान्नँ, दिनहुँ भगवान् नजपी हुन्नँ !

चैत २३, २०७५
अनमोलको जीवनशैली : रक्सी–चुरोट र माछामासु खान्नँ, दिनहुँ भगवान् नजपी हुन्नँ !

काठमाडौं – अहिले फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा रहेका अभिनेता हुन् अनमोल केसी । अनमोलको स्वरुप, अभिनय र पारिश्रमिकको सधैं चर्चा हुँदै आएको छ ।

चकलेटी लुक्सका अनमोलले थोरै फिल्म खेलेरै युवा पुस्तामाझ लोभलाग्दो लोकप्रियता स्थापित गर्न सफल छन् ।

गत फागुनमा अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ प्रदर्शनमा आयो भने आगामी शुक्रवारबाट ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आउँदैछ ।

अनमोल अन्य अभिनेताभन्दा भिन्न छन् नै । उनको दिनचर्या, रुचि र स्वभाव पनि आम अभिनेताभन्दा भिन्न छ ।

यसरी बित्छ दिनचर्या

फिल्मको सुटिङ, डबिङ लगायत अन्य कार्यक्रम हुँदाबाहेक अनमोलको दिनचर्या प्रायः समयतालिका अनुसार चल्छ ।

उनलाई बिहान त्यतिधेरै अबेरसम्म सुत्न मन पर्दैन । अनमोल भगवानप्रति उच्च आस्था राख्छन् । ‘म त कृष्ण भगवानको भक्त परें,’ उनी हाँस्दै भन्छन्, ‘फ्रेस भइसकेपछि दिनहुँ भगवानको नाम जप्दै पूजा गर्छु ।’ 

उनले कोठामा कृष्ण भगवानका तस्विरहरू टाँसेका छन् । ‘प्रायः घरमै पूजा गरेपनि हप्तामा १ दिनचाहिँ मन्दिर पनि पुग्ने गरेको छु,’ अनमोल सुनाउँछन् । 

उनी बिहान १० बजे आसपास खाजा लिने समय हुन्छ । खाजामा फलफूल, केरा, स्याउ लगायत जे उपलब्ध हुन्छ, त्यहीँ खान्छन् । अनमोलको रुचिमध्येको एक हो – कुकिङ । उनी भन्छन्, ‘प्रायः ब्रेकफास्टका लागि आफैं किचनसम्म पुग्छु । आफ्नो लागि आफैं ब्रेकफास्ट तयार गर्छु ।’

खाजा पनि परिस्थिति अनुसार हुन्छ । फिल्मको तयारी छ भने भूमिकाको आवश्यकता अनुसार सुहाउने खालको खाजा लिन्छन् । खाजा लिइसकेपछि शुरू हुन्छ उनको नृत्य अभ्यास । १० बजेदेखि घरमै नृत्य अभ्यास गर्छन् उनी । झण्डै २ घण्टा चल्छ उनको नृत्य अभ्यास । 

दिउँसो १२ बजे खानाको समय हुन्छ । खानामा के खान्छन् अनमोल ? ‘मलाई दाल, भात र तरकारी मन पर्छ,’ उनी भन्छन् । उनको खाना प्रायः सहयोगीले बनाउँछन् । खाना खाइसकेपछि १ घण्टा आराम गर्छन् अनमोल ।

त्यसपछि समय हुन्छ जीमको । कुराकानीमा अनमोलले जीम सेन्टरको नाम र स्थान गोप्य राख्न चाहे । उनले भने, ‘फ्यानहरूका कारण यो चाहिँ गोप्य नै राखौं ।’

जीम सेन्टरमा अनमोलले दिउँसो साढे २ बजेसम्म पसिना चुहाउँछन् । त्यसपश्चात् घर फर्कन्छन् । फर्किने क्रममा बाटोमा फलफूल पसल छिर्छन् । ‘फ्रेस जुस’ पिउँछन् । ४ बजेदेखि घरमै किक बक्सिङदेखि जिम्न्यास्टिक अभ्यास गर्छन् । त्यो सकिँदा झण्डै ७ बजिसकेको हुन्छ ।

अनमोल साँझमा दिनहुँ नुहाउने बताउँछन् । ‘ननुहाउँदासम्म फ्रेस महशुस नै हुँदैन,’ अनमोल भन्छन्, ‘त्यसमाथि धुलोधुँवा र पसिनाले गर्दा दिनहुँ नुहाउनु आवश्यक छ ।’ नुहाइसकेपछि समय हुन्छ खानाको ।

साँझको खानामा पनि त्यही दाल, भात र तरकारी खान्छन् उनी । खाना खाइसकेपछि ८ बजेदेखि ९ बजेको बीचमा केही समय अनमोलले सामाजिक सञ्जालमा बिताउँछन् । ‘साँझमा प्रायः १ घण्टा सामाजिक सञ्जालमा अपडेट हुने, सेलिबे्रटीहरूको इन्टरभ्यूज हेर्ने गर्छु,’ अनमोल सुनाउँछन्, ‘अझ इन्टरभ्यूजमा सिनियर कलाकारहरूले अभिनयको बारेमा शेयर गरेका अनुभव बढी हेर्छु ।’

अनमोल फिल्म हेर्नमा पनि समय छुट्याउँछन् । ‘दिउँसोको खाली समयमा पनि फिल्महरू हेरिरहेको हुन्छु,’ अनमोल सुनाउँछन् । अनमोलका सीमित साथीहरू छन् ।

उनी बाहिर अनावश्यक समय बिताउन रुचाउँदैनन् । साँझ १० देखि ११ बजेसम्म अनमोल ओछ्यानमा पुग्छन् । ओछ्यानमा पुगेको केही समयमै निदाउँछन् ।

‘रक्सी–चुरोट र माछामासु खान्नँ’

प्रायः सेलिब्रेटी रक्सी–चुरोट पिउँछन् । तर अनमोलमा रक्सी–चुरोटको लत बसेको छैन । ‘म रक्सी–चुरोट पिउँदिनँ । यसले शरीरलाई फाइदा गर्दैन भन्ने बुझेको छु,’ अनमोल भन्छन् ।

उनी माछामासु पनि खाँदैनन् । केही वर्ष अघिसम्म त खान्थे । तर जब उनलाई जनावरको माया लाग्न थाल्यो, तब माछामासु खान छाडेको अनमोल बताउँछन् । ‘५ वर्ष भयो माछामासु खान छाडेको,’ अनमोल भन्छन् । सोही समयदेखि नै आफूमा भगवानप्रतिको आस्था पनि उच्च भएको उनी बताउँछन् । 

‘फेसनेवल हुन ईच्छा लाग्दैन’

अनमोल आफूलाई ‘फेसनेवल’ हुन त्यति ईच्छा नलाग्ने बताउँछन् । तर अनमोललाई फिल्म क्षेत्रले फेसनेवल बनाएको छ ।

‘फेसनेवल हुन त्यति ईच्छा लाग्दैन । तर फिल्म क्षेत्रमा आइसकेपछि, फिल्ममा हिरो भइसकेपछि आफूलाई राम्रो देखाउनैपर्यो,’ अनमोल भन्छन्, ‘फिल्ममा हिरो भइसकेपछि बाहिर पनि हिरो त देखिनुपर्यो नि ! होइन र ?’

बाहिर हुँदा ‘टिपटप’ परेर हिँड्नु बाध्यता भएपनि घरमा हुँदा आफू सामान्य पहिरनमै हुने अनमोल बताउँछन् । ‘घरमा सामान्य पहिरनमै हुन्छु,’ उनी भन्छन्, ‘सामान्य टी–सर्ट, ट्रयाकहरू लगाएर बसिरहेको हुन्छु ।’ आफ्नो लागि सपिङमा प्रायः आफैं जाने गरेको उनी बताउँछन् ।

दिमाग फ्रेस त बडी फ्रेस !

अनमोल शरीरलाई फिट राख्न जीवनमा कुनै पनि कुराको चिन्ता लिन नहुने बताउँछन् । ‘मलाई त मानिस जति चिन्ता लियो, त्यति छिठो बुढो हुन्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले कहिल्यै अनावश्यक चिन्ता लिनु हुँदैन ।’ 

उनको बुझाइमा शरीरलाई फिट राख्न योग र ध्यानको पनि आवश्यक छ । ‘मेडिटेसनले दिमागलाई फ्रेस बनाउँछ,’ अनमोल भन्छन्, ‘दिमाग फ्रेस भयो भने बडी फ्रेस हुन्छ ।’

अनमोल मानिसले जहिल्यै सकारात्मक सोच लिनुपर्ने बताउँछन् । त्योबाहेक दिनहुँ शारीरिक व्यायाममा केही समय दिनु स्वास्थ्यको लागि फाइदाजनक रहेको अनमोलको अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्