
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउने रणनीतिक उद्देश्यका साथ 'सेमेष्टर प्रणालीको सशक्तिकरण र सुदृढिकरण' शीर्षकमा २ दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।
हाल विश्वविद्यालयले अवलम्वन गरेको सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाएर शिक्षक केन्द्रीत प्रणालीबाट विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा शिक्षकहरूलाई विज्ञहरूद्वारा अनुभव आदानप्रदान गरिएको थियो । समेष्टर सम्वन्धी विषयमा भएको प्राज्ञिक बहसले सेमेष्टर प्रणालीमा विद्यार्थीका रचनात्मक क्षमता र व्यवहारिक ज्ञानलाई कसरी प्रष्फुटित गरी कक्षाकोठामा ज्ञान र सीप आर्जनको वातावरण निर्माण गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका बाहिरका १६ वटा आंगिक क्याम्पसबाट ३२ जना र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरू समेत गरी ८० जना सहभागी थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाँले सिकाइ आफैंमा जटिल एवम् दायरा फराकिलो भएको भन्दै शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । विश्वव्यापी भुमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले सेमेष्टर प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउदै लैजाउनुपर्ने धारणा व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय सेमेष्ट्रर प्रणालीको कार्यान्वयनबाट पछि हट्न नसक्ने उल्लेख गर्दै उनले विद्यार्थीको मूल्यांकन प्रक्रियामा लचिलो बन्न प्राध्यापकहरूलाई आग्रह गरे । मुल्यांकन सेमेष्टर प्रणालीको महत्वपूर्ण पक्ष र नेपालको सन्दर्भमा चुनौती समेत रहेकोले यसका विविध आयामहरूलाई आंकलन गर्न अनुरोध गरेका थिए ।
त्रिवि शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सेमेष्ट्रर प्रणालीले विद्यार्थीहरूलाई उत्प्रेरित र शिक्षकहरूलाई जिम्मेवार बनाउने बताइन् । सेमेष्टर प्रणाली कक्षाकोठामा अन्तर्क्रिया हुने वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्क्रिय हुनबाट जोगाउन देशभरीनै सेमेष्टर प्रणाली अनुरूप शैक्षिक क्रियाकलाप अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । त्रिविमा हाल सञ्चालित सेमेष्टर प्रणालीले सिकाइ अभ्यासमा थुप्रै सकरात्मक परिणामहरू प्राप्त भएका बताए । लामो समयको प्रयत्नबाट अन्तराष्टिय क्षेत्रमा अनुभव प्राप्त विज्ञहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको भन्दै उनले सेमेष्टर प्रणालीलाई सिकाइको एउटा विधिको रुपमा अवलम्बन गर्न आग्रह गरे ।
त्यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाइको वातावरण निर्माण गर्नुपर्ने बताए । पाठ्यक्रमको बुझाइमा समेत व्यापक परिवर्तन गरी सेमेष्टर प्रणाली संस्थागत हुन समस्या सिर्जना हुने बताए । बुझाइमा एकरूपता नहुँदा परम्परागत मुल्यांकन प्रणाली कायमै रहेको भन्दै उनले परिक्षा सञ्चालनमा क्याम्पस र विभागहरूलाई समेत संलग्न गराउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा स्टोनी बुरक्स विश्वविद्यालय,संयुक्त राज्य अमेरिका सह प्राध्यापक घनश्याम शर्माले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउँदै विद्यार्थीलाई परिक्षाको माध्यमबाट मात्रै मुल्यांकन गर्नु नहुने बताए । विद्यार्थीमा भएको अन्तरनिहीत क्षमता,कला, शैली,संस्कारका माध्यामबाट समेत मूल्यांकन गर्ने भएकोले सेमेष्टर प्रणाली विश्वकै उत्कृष्ट शैक्षिक प्रणाली रहेको बताए । य
सैगरी मोग्रन विश्वविद्यालय,संयुक्त राज्य अमेरीकामा प्राध्यापक गर्दै आएका कृष्ण विष्टले सेमेष्टर प्रणालीको अन्तराष्ट्रिय अनुभव र नेपालले सिक्नुपर्ने विषयका बारेमा अन्तरक्रिया गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा रामप्रसाद खतिवडा,कानून संकायका डीन, प्रा.डा विजय सिजापती, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा शिवलाल भुषाल, शिक्षाशास्त्र संकायका डीन प्रा.डा कृष्णप्रसाद गौतमले त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर सञ्चालनको अवस्थाका बारेमा जानकारी गराएका थिए । यसैगरी छलफलमा सेमेष्टरको पृष्ठभूमि,उद्देश्य र आगामी दिनमा लिने कोर्षकाका विषयमा छलफल भएको थियो । यसैगरी सेमेष्टर प्रणालीको सफल कार्यान्वयका बारेमा समेत विषय विज्ञद्वय घनश्याम सुवेदी र कृष्ण विष्टले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा ११ वटा विभिन्न शिर्षकमा कार्यक्रममा भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा विनिल अर्याल, पद्यकन्या क्याम्पसका प्रा.डा.जया प्रधान, डा.सुरेन्द्र सुवेदी, त्रिविका उपप्राध्यापक इन्द्र सुवेदी, सुशिल अवाले,माधव प्रसाद घिमिरे, बामदेव अधिकारी, सञ्जय कुमार श्रेष्ठ, वेद प्रसाद आचार्य, नारायण अधिकारी, कल्पना ज्ञवाली, भोजराज अर्याल, शोभाकर कडेल,राजु खनाल लगायतका विज्ञहरूले कार्यपत्रसहितको प्रस्तुति गरेका थिए ।