
काठमाडौं–सरकारले गत पुसमा घोषणा गरेको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा ३९ सय कम्पनी सहभागी भएका छन् ।
बुधवारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको उक्त कार्यक्रममा ३९ सय कम्पनी दर्ता हुँदा करीब २० हजार श्रमिकलाई सहभागी गराइएको कोषका कार्यकारी निर्देशक रामप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
कार्यकारी निर्देशक घिमिरेले सूचीकृत हुनका लागि असोजसम्मको म्याद थपिएकाले यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे । ‘यो नयाँ कार्यक्रम हो । त्यसैले सूचीकृत हुनेको संख्या न्यून देखिएको हो,’ उनले भने, ‘असोज मसान्तसम्म सूचीकृत हुने म्याद थप गरेका छौं । त्यतिखेरसम्म सूचीकृत हुनेको संख्या पक्कै पनि बढ्ने छ ।’
केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय आर्थिक जनगणना अनुसार नेपालमा ९ लाख २३ हजार औद्योगिक प्रतिष्ठान (कम्पनी) सञ्चालनमा रहेका छन् भने ती कम्पनीसँग आबद्ध श्रमिकको संख्या ३२ लाख भन्दा बढी छ ।
बैंक तोक्ने तयारीमा कोष
नयाँ आर्थिक वर्ष शुरू भएसँगै बुधवारदेखि नै कार्यान्वयनमा आएको कार्यक्रममा सूचीकृत श्रमिकको साउन महिनाको रकम जम्मा गर्न सकिने छ ।
त्यसका लागि सम्बन्धित श्रमिकको तलबबाट कट्टा गरिएको ११ प्रतिशत र रोजगार दाताले थप गरेको २० प्रतिशत रकम समाजिक सुरक्षा कोषले तोकेको बैंकमा जम्मा गर्नुपर्नेछ ।
कुन रोजगारदाता कम्पनीले कुन बैंकमा रकम जम्मा गर्ने भन्ने विषयमा समाजिक सुरक्षा कोषले आवश्यक पहल गरिरहेको कोषका कार्यकारी निर्देशक घिमिरेले बताए ।
‘बैंक र अस्पताल तोक्नका लागि आवश्यक छलफल गरिरहेका छौं,’ घिमिरेले भने, ‘सूचीकृत भएका रोजगारदातालाई फलानो बैंकमा जम्मा गर्ने भन्दै तोक्ने छौं । त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं ।’
कार्यक्रममा सहभागी भएपछि स्वास्थ्य बिमा लगायतका सुविधा पनि उपलब्ध हुने भएकाले अस्पताल समेत अहिले नै तोक्न लागिएको हो ।
नयाँ कार्यक्रम भएको र असोजसम्म म्याद थपिएकाले तत्कालका लागि सहभागितालाई बाध्यकारी नबनाइएको कोषका कार्यकारी निर्देशक घिमिरे बताउँछन् ।
थप गरिएको समयभित्र पनि सूचीकृत हुन नआएमा आवश्यक कारवाही गरिने उनको भनाइ छ ।
अधिकांश व्यवसायीले उक्त कार्यक्रममा सहभागी हुन आनाकानी गरिरहेका छन् ।
* ३९ सय हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।