
काठमाडौं – बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी झै–झगडा र कुटपिटमा लागेकै कारण विद्यार्थी संघ–संगठन खारेज गरिदिएको छ ।
गत शुक्रवार एक सूचना जारी गर्दै कलेजले दर्ता भएका राजनीतिक पार्टी आवद्ध विद्यार्थी संघ–संगठन (नेविसंघ, अनेरास्ववियू) लगायत विद्यार्थी संगठन खारेज गरेको जनाएको हो ।
कलेज प्रमुख परमानन्द जोशीद्वारा हस्ताक्षरित सूचनामा एकआपसमा झैझगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण अशान्त बनाउने, चरण–चरणमा आपसमा भिड्नेजस्ता क्रियाकलाप भएकाले स्वयं विद्यार्थी संगठनले नै आफ्नो खारेजीका लागि निवेदन दिएको उल्लेख छ ।
‘संगठनमा आवद्ध विद्यार्थीहरूले नै असुरक्षित महसूस गरी गत साउन १ गते आ–आफ्नो संगठनको लेटरहेडमा संघसंगठनहरू खारेजीको लागि निवेदन दिएकाले कलेज सञ्चालक समितिले सोही दिन निर्णय गरेर राजनीतिक पार्टीसँग आवद्ध संघ संगठन र स्ववियू कलेजबाट खारेज गरिएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

अनेरास्ववियू बैतडी जिल्ला अध्यक्ष नरेन्द्र नाथले विद्यार्थीका विवाद समाधान गर्न कलेज असफल भएपछि संगठन खारेज गर्ने निर्णय गरिएको आरोप लगाए । ‘विद्यार्थीको राजनीति गर्न पाउने हकमाथि कलेज प्रशासनले बन्देज लगाउनु हुँदैन्थ्यो तर कलेज सञ्चालक समितिले विद्यार्थीको सामान्य विवादलाई देखाएर संगठन खारेज गर्यो,’ उनले भने ।
यस विषयमा प्रतिक्रिया लिन क्याम्पस प्रमुख परमानन्द जोशीलाई टेलिफोन गर्दा उनले फोन उठाएनन् ।