
काठमाडौं- कथासंग्रह 'गोहो'का लेखक जिके पोख्रेलले काल्बुङका पाठक तथा सर्जकहरूसँग बहस गरेका छन् ।
साङ्ग्रिला रिडर्स क्लबले गरेको आइतवारे डिस्कोर्समा 'कथाको काम' शीर्षकको बहसमा बोल्न उनलाई साङ्ग्रिला बुक क्याफेमा निम्त्याइएको थियो ।
गोहोलाई केन्द्रमा राखेर रिडर्स क्लबका सदस्यहरूले उनीसित एक घण्टा लामाे संवाद गरे । यसैबीच समीक्षकहरूले उनको कथा लेखन शैलीलाई`समाचारको सर्जमिन´जस्तै भन्ने सन्दर्भ कोट्याए ।
पोखरेलले भने, 'नेपालका पत्रकारहरू नेता वा मन्त्रीका पीएसँग अफिस काेठामा पुगेर `बुँदा´ टिपेर कथेकाे फिक्सनले पत्रिकाका मुखपृष्ठ भरिएका हुन्छन् । त्यसैले त भाेलिपल्ट नेता/मन्त्रीले समाचारमा आफ्नो `बाइट´ बङ्ग्याइएकाे स्पष्टिकरण दिन्छन् । हालकाे नेपाली पत्रकारिताकाे मुलधारकाे समस्या यही हाे । नेपालमा `कथ्य/आख्यानसिक्त´ समाचार परम्परा हुर्किएको छ। मेराे कथाकाे सन्दर्भमा शैली अलिक झिँझो लाग्दो र घुमाउराे भए पनि पढिसकेपछि मेरा कथाहरूले कुनै न कुनै विचार दिन्छ ।’
पोख्रेलले आफ्नो कथामा नेपालमा भएको माओवादी आन्दोलनप्रतिको असहमति रहेको खुलाउँदै भने, 'काेठे समाचारमा घाेकाइएको द्वन्द्व र मैले आफैं बाँचेको द्वन्द्व फरक थियो ।'
संवादका क्रममा लेखकले समाजको चिन्ता गर्ने भन्दै उनले आजको नेपाली गणतन्त्र जनयुद्धले तय नगरेको अनि गणतन्त्र १९ दिने आन्दोलन र दरबार हत्याकाण्ड रहेकाे खुलाए ।
‘अहिले नेपाली गणतन्त्र कुनै उपलब्धि हाेइन,' उनले भने, `पहिलेकाे पाँच विकास क्षेत्रकाे प्लटिङलाई नयाँ रूप दिएर सात प्रदेश बनाए, भुइँ मान्छेका समस्या उस्तै छन् । जनताले यति उपलब्धि मात्रै आशा गरेका थिएनन् । यही कुरा मैले कथामर्फत भनेको हुँ ।’
उनलाई पाठकहरूले नेपालमा लेखेर जीविका चलाउन सक्ने स्थिति बनिसकेको मिडियाको हल्ला दार्जिलिङसम्म नै आइपुगेको सन्दर्भ झिक्दै भने, 'त्यो हल्ला मात्रै हो । नेपालमा लेखेर जिविका चलाउने स्थिति बनेको छैन । तीन चारजना लेखकलाई देखाएर यस्तो हल्ला गरिएको मात्र हो ।'
उनले नेपालमा वेस्ट सेलर किताबबारे पनि यस्तो हल्लाखल्ला गरिएको बताए । यता रिडर्स क्लब सञ्चालक उमेश परियारले नेपालका कथा, लेखक, त्यहाँ लेखिएका साहित्य र समाजको सम्बन्ध पोखरेलबाट बुझ्न सहज बनेको जनाए । ‘दार्जिलिङमा नेपालका चर्चित किताबहरू आइपुग्छन् तर लेखकहरूसित दार्जिलिङका पाठकले संवाद गर्ने अवसर नै पाउँदैन,’ उनले भने, ‘रिडर्स क्लबले उप्रान्त नेपाली, हिन्दी, अंग्रेजी भाषाका लेखकहरूलाई निम्त्याएर संवाद निरन्तर गर्नेछ ।’