
-कमल शिशिर
तिमी रिसाएदेखि
जानेर वा नजानेर
बाटो बिराएदेखि
धेरै पल्ट खोजेँ
मान्छेहरूको भिडमा
कहिले एकान्तमा
कहिले चौतारोमा
चोकमा, गल्लीमा
तिम्रा पदचापहरू पछ्याउँदै
निस्किएँ मुलबाटोमा
तर खाली भेट्टाएँ शुन्यता
तिमी रिसाएदेखि
असीम प्यार बोकेर आएथेँ
त्यसो त तिमी पनि
हरेक युवतीजस्तै
बा, आमाका
दाजु, बहिनीका
नातागोता ईष्टमित्र
त्यति मात्र हैन
पूरै समाजका
आँखा बन्द गराइ
वा आफ्नै आँखा बन्द गरी
निस्फीक्री बस्
बस् मलाई भेट्न आएकै हौ
भेट भएकै हो
हरेक सेकेन्डहरू
प्रेमिल बनेकै हुन्
तर अपसोच
सानो निहुँमा
शंकाको बिउ
हर्लक्कै बोट बन्दा
माया त छायाँमा परेछ
विशाल वृक्षको
तिमी रिसाएदेखि
तिमीले हामी खोज्यौ खोजिनौ
थाहा भएन
तर मैले 'तिमी' सहितको
हामी खोजेँ
थुप्रै क्याफेमा
थुप्रै पार्कमा
धुलीखेलका रातहरूमा
जिरीका यात्राहरूमा
लाङटाङको उकालोमा
बन्दीपुरका सिँढीहरुमा
कन्यामका चिया बगानमा
यता विष्णुमति किनारमा
माथि टीयुका मैदानहरुमा
तर अपसोच
मैले 'म' पनि भेट्टाईन
अनि कसरी भेटिन्थ्यौँ हामी?
तिमी रिसाएदेखि
मैले जताततै खोजेँ
मेरा हर नजरमा
अनेकौँ शहरमा
तिम्रै नाममा लेखिएका
गजलका बहरमा
मलाई थाहा नहुँदासम्म
तिमी हराएकी होईनौ
लुकेकी हौ
साँच्चै म त मूर्ख बनेछु प्रिय
तिमी रिसाएदेखि