२७ असार २०८३, शनिबार

शिक्षा दिवस तयारी : जिल्लागत उत्कृष्ट शिक्षक वैज्ञानिक मापदण्डबाट छानिँदै

शिक्षा दिवस तयारी : जिल्लागत उत्कृष्ट शिक्षक वैज्ञानिक मापदण्डबाट छानिँदै
प्रतिकात्मक तस्वीर

काठमाडौं – विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ ।

राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४० औं राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो ।

दिवसमा विद्यालयलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ ।

विगतको जस्तो धेरै संख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ । मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्षसमेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्यांकन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो ।

समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट १/१ जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । फाराममा ५ सूचक र तिनका लागि अंकभार समेत समावेश गरिएको छ ।

उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाहरुको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पुर्‍याएको योगदानका लागि १० गरी १०० पूर्णांक निर्धारण गरिएको छ ।

पुरस्कारका सिफारिशका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको ३ वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्यांकनमा ९० अंक ल्याएको, तालिम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्तांक औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ ।

विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ ।

नेपाल शिक्षक महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्यांकन हुने अपेक्षा व्यक्त गरे ।

राष्ट्रिय शिक्षा दिवस भदौ २२ गते मनाइँदैछ । सोही दिन विश्वव्यापीरुपमा हरेक सेप्टेम्बर ८ मा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आइएको छ । सन् १९६६ अक्टोबर २६ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को १४ औं सेसनबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने प्रस्ताव पारित भएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय दिवसको नारा ‘लिटेरेसी र मल्टिलिंग्युयालिज्म’ रहेको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार विश्वविद्यालयका प्राध्यापकमध्ये १५, प्रविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का प्रशिक्षकमध्ये सात र अन्य योगदानकर्तालाई पुरस्कार, पदक र प्रशंसापत्र दिने तय गरिएको जानकारी दिए । प्राध्यापकको छनोट विश्वविद्यालय अनुदान आयोगले गर्नेछ ।

दिवसमा सरकार, नागरिक समाज र सरोकार भएकाहरुका लागि विश्व साक्षरदता दर बढाउन र साक्षरताका लागि विद्यमान चुनौतीबारे समीक्षा गरिन्छ । दिवसलाई परम्परागत र औपचारिकरुपमा नभई मौलिक रुपमा मनाउन समितिले पहल थालेको छ भने सबै स्थानीय तहलाई आफ्नो तरिकाले दिवस मनाउन अपिल गरिएको छ ।

राष्ट्रसंघीय दिगो विकासको लक्ष्यअन्र्तगत साक्षरता एक प्रमुख मुद्दा मानिन्छ । सन् २०१५ मा दक्षिण कोरियाको इन्चोनमा भएको विश्व शिक्षा मञ्चले सन् २०३० सम्मका लागि ‘समावेशी, समतामूलक र गुणस्तरीय जीवनपर्यन्त सिकाइ’ को घोषणा गरेको थियो ।

नारा तय

दिवसका लागि यस वर्ष ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नारा (आदर्श वाक्य) तय गरिएको मन्त्रालयका उपसचिव विदुर गिरीले जानकारी दिए । उनले पुरस्कारका लागि बनाइएको मापदण्डका आधारमा प्राप्त हुने सिफारिशका आधारमा कूल कति व्यक्ति पुरस्कृत गर्ने भन्ने तय गरिने जनाए ।

नेपालमा विक्रम संवत् २०३१ देखि ‘शिक्षाको उज्ज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ यो राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो । – प्रकाश सिलवाल/रासस 

salt training

कमेन्ट गर्नुहोस्