१६ असार २०८३, मंगलबार
कविता

परिवर्तन

असोज ११, २०७६
परिवर्तन

- केदार पनेरू

आधुनिक स्मार्ट फोनहरू
स्क्रिनमा पलपलमै समाचार 
अपलोड भरहन्छन् 
हे विज्ञान तेरो आविष्कार 
धन्य छ 
हामी कति आधुनिक 
कति छिटो र परिस्कृत छौं

हेर त विगत हाम्रो 
जहाँ समाचारहरू पढ्न 
भूगोल पार्कको भित्तामा
आखाँहरू सोझ्याउनु पर्थ्यो 
समय हेर्न त्यो घण्टाघर धाउनु पर्थ्यो 
आज त्यही घण्टाघर ठिङ्ग उभिएको दशकौं नाघिसकेको छ 
तर त्यो समयको सूचक जस्ताको तस्तै छ 
कसैलाई पर्खंदैन 

त्यो सिंहदरबार, रानीपोखरी, 
धरहरा, बागदरवार मस्त लडिरहेछन्
क्यानभासमा 
म निरन्तर देखिरहेछु 
उनीहरूको बिम्ब
नतमस्तक हुन्छु अनि अतीत सम्झेर 
म विरक्त हुन्छु 
कहिलेकाहीँ

ए काठमाडौं के थिएन तिमीसँग ?
इतिहास, भूगोल, संस्कृति चिनाउन
तिमी अब्बल थियौ

संसार चिनाउने ताकÞत थियो 
विश्व तिमीसँग मितेरी लाउन 
तछाडमछाड गर्थे 

एकाएक तिमी कमजोर भयौ
तिम्रा अन्नका भण्डारहरू 
रित्ता भए 
बदलामा तिम्रा नाभीहरूमा 
सिमेण्टका छतहरू फले 
यसले न पेट भरेको छ, न छाक टरेको छ 
सिर्फ गिज्याइरहेको छ 
ती महलहरूले 
घिनलाग्दो छ विकास 
मानिसको व्यवहार कति क्रूर छ 
चिन्तनहरू दिग्भ्रमित छन् 

तिमीलाई पच्छ्यौरीले झै ढाक्ने 
ती हुस्सु र तुवालो देखिन्नन् अचेल 
फुस्स कुहिरीमण्डल जताततै
म तिमीसँगको लुकामारीको यादगार मेटाउन 
अचेल दूरदराजको यात्रा गर्ने गर्छु 

हेर त हामी कति फसिसक्यौ 
लत कुलत अनि दलदलमा 
अरुलाई उपदेशको भारी बोकाउन आतुर छौ 
आलोचना गर्न खप्पिस छौ 
तर हामी ?
केही गर्दैनौं 
मूल्यवान समय कटाइरहेछौं 
जसरी घण्टाघरले कसैलाई कुरेन 
र निरन्तर घुमिरहेछ 
हाम्रो गन्तव्य कहाँ हो 
कता जानुपर्ने हो ?
के गर्दैछौं ?
कहाँ पुग्दै छौं ?
थाहा छैन 

त्यसैले ए विज्ञान 
म तलाई ललकार्छु 
अनि आह्वान गर्छु 
हाम्रो अबको वाटो
अनि गन्तव्य कोरी दे 
तागत छ भने भविष्य देखाइ दे 
हाम्रो यात्रा कहाँसम्मको हो 
जहाँ समुन्नत समाज निर्माण होस्
अनि गणतन्त्र फलोस् फुलोस् ! 

चन्द्रागिरी–१३ काठमाडौं ।

salt training

कमेन्ट गर्नुहोस्