
काठमाडौं – नेपालीको महान् पर्व विजयादशमीको शुरूवात भइसकेको छ ।
विशेषगरी दशैंमा खसी, बोका र च्यांग्राको बलि दिएर मासु खाने प्रचलन छ । नेपालीले दशैंमा अन्य समयको तुलनामा बढी मासु खाने चलन छ ।
मासु खानुअघि थुप्रै सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकहरू बताउँछन् । त्यसका लागि मासु छनोटमा ध्यान दिनुपर्ने हुन्छ ।
दशैंमा कस्तो खसी–बोका छनोट गर्ने ?

खानका लागि मासु छनोट गर्दा कम बोसो भएको पशु छनोट गर्नुपर्ने सुझाव पशु सेवा विभागका डा. चन्द्र ढकालले बताए । ‘सामान्यतया मासुमा अन्य खाद्य पदार्थको तुलनामा बढी क्यालोरी पाइन्छ । मानिसको शरीरको लागि बोसोजन्य खाना उपयुक्त हुँदैन । त्यसैले खसी–बोका रोज्दा कम बोसो भएको रोज्नुपर्छ,’ ढकालले भने ।
मोटो र ठूलो आकारको खसी–बोकामा सबैको आकर्षण देखिन्छ तर तुलनात्मक रुपमा त्यस्ता प्रकारका खसी–बोकाको मासु कम स्वस्थकर हुने डा. ढकालले बताए ।
‘हेर्दा ठिक्क पातलो, फुर्तिलो, शरीर चिल्लो देखिने र शरीर छाम्दा गाँठागुँठी नभएको खसीबोका मासुको लागि उपयुक्त हुन्छ । सामान्यतया यस्ता प्रकारका खसीबोका निरोगी र मासु खानको लागि उपयुक्त हुन्छ,’ डा. ढकालले भने । शरीरमा छाम्दा गाँठागुँठी भेटिएमा त्यस्तो खसीबोका तत्काल मासुको लागि प्रयोग गर्न अनुचित हुने डा. ढकाल बताउँछन् ।

‘आँखामा कचेरा भएको र हेर्दा जिउ झुसुङ भएको खसीबोका भित्रिरुपमा रोगी हुन सक्छन् । तत्काल त्यस्ता प्रकारका खसीबोका पनि खान उपयुक्त हुँदैन । ठूलो साइजका खसीबोकाको मासु चाम्रो हुने र सजिलोसँग पचाउन गाह्रो हुने हुँदा ठूलो साईजको खसीबोकाको मासु पनि तुलनात्मक रुपमा उपयुक्त हुँदैन,’ उनको सुझाव छ ।
खसीबोका छनोट गरिसकेपछि मासु तयार गर्दा पनि ध्यान दिनुपर्ने उनले बताए । ‘मासु पहेंलो देखिएमा, ग्रन्थीहरू सुन्निएको भेटिएमा, शरीर र पेटमा पानीको फोका बढी भेटिएमा त्यस्तो मासु प्रयोग गर्न उचित हुँदैन,’ डा. ढकालले भने । डा. ढकालका अनुसार खसीबोकाको पेटमा भेटिने पानीका फोकाहरू नाम्लेजुकाको लार्भा अवस्था भएकाले त्यस्तो अवस्थाको मासु प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्न सक्छ ।
‘खसीबोका काट्दा भेटिएका गाँठागुँठी र पानीका फोका तत्काल कुकुर बिरालोलाई खान दिने प्रचलन छ तर त्यसो गर्नुहुँदैन । किनकि नाम्लेजुका तत्काल सर्ने सम्भावना रहन्छ,’ डा. ढकालले लोकान्तरसँग भने ।
डा. ढकालका अनुसार कुनै पनि पशुपन्छीको टाउको, कलेजो, फोक्सो, आन्द्राभुँडी, रगत र खुट्टा प्रयोग गर्न उपयुक्त हुँदैन, प्रयोग गर्न नै परेमा तत्काल राम्रोसँग सफा गरेर प्रयोग गर्नुपर्छ ।
