
यो धर्तीमा जन्म लिने प्राणीले एक न एक दिन मर्नैपर्छ । मृत्युपछि शरीरलाई अन्तिम संस्कार गर्ने परम्परा सबैतिर छ । हरेक धर्ममा मनुष्यको अन्तिम संस्कारको अलग अलग प्रथा छ । यहाँ हामी अन्तिम संस्कारसम्बन्धी यस्ता पारम्परिक प्रथाका बारेमा बताउँदैछौं जसलाई पढेर तपाईं छक्क पर्नुहुनेछ ।

स्काइ बरियल
अन्तिम संस्कारको यो प्रथा तिब्बत, किंघई र भित्री मंगोलियाका इलाकाहरूमा चलेको छ । यहाँ मृत व्यक्तिको शरीरको सानो सानो टुक्रा पारेर पहाडमा राखिन्छ । मरेपछि मनुष्यको शरीर केही काम लाग्दैन र त्यसलाई प्रकृतिमा छोडिदिनुपर्छ भन्ने मान्यता हो । यी लाशलाई जंगली जनावर र चराहरूले खाइदिन्छन् ।

फामाडिहाना
यो प्रथा म्याडागास्करको मलागासी मानिसहरूमा व्याप्त छ । यसमा मृत शरीरलाई चिहानबाट निकालेर सफा कपडा लगाएर त्यसवरिपरि नाच्छन् । यसो गरेर उनीहरू आफ्ना पूर्वजलाई याद गर्छन् र गाउँको चक्कर लगाएर पछि गाडिदिन्छन् ।

लट्किएको ताबुत
प्राचीन चीनको राजवंशमा मृत व्यक्तिका ताबुतलाई पहाडको टुप्पोमा राखिन्थ्यो । निर्जीव व्यक्तिलाई आकाश नजिक राख्दा स्वर्ग प्राप्ति हुन्छ भन्ने उनीहरूको मान्यता छ । पुरातत्त्व विभागले पहाडहरूमा शताब्दियौं पुराना ताबुत भेटेका छन् ।

गिद्धलाई खुवाउने
पारसी समुदायमा मृत्युपछि शरीरलाई नुहाइधुवाइ गरेर धार्मिक स्थान (टावर) मा छोडिन्छ अनि गिद्धहरूले आएर खान्छन् । मृत्युपछि मानवीय शरीर त्याग्नुपर्ने र अर्को प्राण्ीलाई काम लाग्ने मान्यता हो ।

घाँटी थिच्ने
फिजीका केही इलाकामा अझै पनि यो प्रथा कायम छ । यसमा मनुष्यको नजिकको नातेदारलाई घाँटी थिचेर मारिन्छ । मृतक अर्को संसारमा एक्लै नजाओस् र उससँग नजिकको नातेदार पनि सँगै जाओस् भनेर यसो गरिएको हो । सती प्रथा जस्तै हो यो ।

नरभक्षण
पपुआ न्यु गिनी र ब्राजिलका केही इलाकामा मृतकका नजिकका नातेदारले उसको शरीर खाइदिन्थे । हुन त यो प्रथा अहिले छैन र यी इलाकामा पहिलेपहिले खानेकुराको कमीका कारण यसो गरिएको बताइन्छ ।

लाश रुखमा बाँध्ने
केही मानिस मृत नातेदारका शवलाई गाउँको कुनै रुखमा झुण्ड्याइदिन्थे । अफ्रिकाका केही क्षेत्रमा बस्ने केही नास्तिकहरूले यसो गर्ने गरेको मान्यता छ ।

सती
हिन्दू धर्ममा कलंकको रूपमा रहेको सती प्रथा अहिले त उन्मूलन भइसक्यो । यसमा पतिको मृत्यु भएपछि पत्नीले पनि आगोमा हाम्फालेर ज्यान दिनुपर्ने हुन्थ्यो । पतिको मृत्युपछि पत्नीको धर्तीमा कुनै काम छैन, बरू पतिलाई आनन्द दिन ऊ अर्को लोकमा जानुपर्छ भन्ने मान्यता लिएर यसो गरिन्थ्यो ।
एजेन्सी