
सिंहदरबारभित्र कार्यालय समयको पालना नगर्नेमा गृह मन्त्रालयका कर्मचारी सबैभन्दा अगाडि देखिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा गृहका ७८ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएको पाइएको हो ।
सतर्कता केन्द्रको टोली गत असोज २८ गते गृह मन्त्रालयमा पुग्दा उपस्थित भएकामध्ये पनि ३ जना कर्मचारीले पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।
चालू आर्थिक वर्षको पहिलो ५ महिनामा सतर्कता केन्द्रले गरेको अनुगमनको तथ्यांकअनुसार गृह मन्त्रालयपछि नेपाल टेलिभिजनका ५६, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ५१, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ४९, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र रेडियो नेपालका समान ३६, अर्थ मन्त्रालयका २७ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका २५ कर्मचारीले कार्यालय समय पालना नगरेको देखिन्छ ।
यसका अलावा अनुगमनका दिन वन तथा वातावरण मन्त्रालयका १९, जलस्रोत तथा सिँचाइ मन्त्रालयका १७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १० र खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका २/२ जना कर्मचारीले कार्यालय समयको पालाना गरेका थिएनन् ।
हेर्नुहोस्, अनुगमनको तथ्यांक :




विभागहरूमा अनुशासनको स्थिति
सिंहदरवारभित्र तथा बाहिर रहेका विभिन्न विभागहरूमा पनि सतर्कता केन्द्रले अनुगमन गरेको थियो ।
केन्द्रले मंसिर १, ३, ४ र २० गते काठमाडौंमा रहेका विभिन्न विभागहरूको अनुगमन गरेको थियो जसमा भन्सार विभागमा १२, घरेलु तथा साना उद्योग विभागमा ४ र खानेपानी तथा ढल निकास विभागमा २ र जलस्रोत तथा सिँचाइ विभागमा १३ जना कर्मचारी समयमा कार्यालयमा उपस्थिति भएका थिएनन् ।
आन्तरिक राजस्व विभाग र खानी तथा भू–गर्भ विभागको कार्यालयमा केन्द्रले मंसिरको ३ गते अनुगमन गर्दा शतप्रतिशत कर्मचारीले कार्यालय समय पालना गरेको पाइएको अनुगमन विवरणमा उल्लेख गरेको छ ।
वीर अस्पतालका कर्मचारी झनै अनुशासनहीन !
सरकारी अस्पतालहरूमा अनुगमन गर्दा वीर अस्पतालका कर्मचारीहरूले तुलनात्मकरूपमा सबैभन्दा बढी अनुशासन उल्लंघन गरेको केन्द्रको अनुगमन विवरणमा उल्लेख गरिएको छ ।
केन्द्रले साउनको २५ गते वीर अस्पतालको अनुगमन गर्दा ३ सय २१ जना कर्मचारी कार्यालय समयमा उपस्थित थिएनन् ।
कान्ति बाल अस्पतालमा भदौको २५ गते केन्द्रले अनुगमन गर्दा ५० जना कर्मचारी समयमा अस्पताल आएका थिएनन् भने गोरखा स्वास्थ्य कार्यालयमा कात्तिकको २६ गते अनुगमन गर्दा १ जना कर्मचारीबाहेक सबै कर्मचारी समयमा नै कार्यालय आएको केन्द्रले जनाएको छ ।
केन्द्रले सिन्धुली जिल्ला अस्पतालमा मंसिरको १६ गते अनुगमन गर्दा ५ जना कर्मचारी समयमा कार्यालय आएनन् भने सोही दिन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीमा अनुगमन गर्दा सबै कर्मचारी समयमा नै कार्यालय आएको भेटियो ।
नगरपालिकाहरूमा अनुशासन पालनाको स्थिति
राष्ट्रिय सतर्कता केन्द्रले कात्तिकको ६ गते काठमाडौंका विभिन्न नगरपालिकाका कार्यालयहरूमा कर्मचारीको अनुशासन स्थितिको अनुगमन गरेको थियो जसमा शंखरापुर नगरपालिकामा १६ जना, बूढानीलकण्ठ नगरपालिकामा १९ जना, तारकेश्वर नगरपालिकामा २३ जना र कीर्तिपुर नगरपालिकामा २४ जना कर्मचारी समयमा कार्यालय आएका थिएनन् ।
कात्तिकको १ गते काठमाडौं जिल्लाभित्रका गोकर्णेश्वर नगरपालिकामा ११, कागेश्वरी मनोहरा नगरपालिकामा १९, दक्षिणकाली नगरपालिकामा २ र चन्द्रागिरी नगरपालिकामा ३ जना कर्मचारी समयमा कार्यालय नआएको केन्द्रले लोकान्तरलाई उपलब्ध गराएको अनुगमन विवरणमा उल्लेख छ ।
कात्तिकको ६ र मंसिरको १ गते राष्ट्रिय सतर्कता केन्द्रले भक्तपुर जिल्लाका विभिन्न नगरपालिकाका कार्यालयहरूमा अनुगमन गरेको थियो । त्यसक्रममा सूर्यविनायक नगरपालिकामा १०, मध्यपुर थिमि नगरपालिकामा २४, चाँगुनारायण नगरपालिकामा ६ र भक्तपुर नगरपालिकामा १ जना कर्मचारी समयमा कार्यालय नआएको भेटिएको अनुगमन विवरणमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले साउन महिनादेखि मंसिरसम्म देशैभरिका १६७ वटा कार्यालय अनुगमन गरेको थियो जसमा १ हजार ४ सय ४५ जना कर्मचारीले कार्यालय समय पालना नगरेको केन्द्रले जनाएको छ ।
अनुशासनको उल्लंघन गर्ने कर्मचारीहरूमध्ये अहिलेसम्म ४ सय ८४ जना कर्मचारीलाई मात्रै विभागीय कारवाही भएको तथ्यांक केन्द्रलाई प्राप्त भएको देखिन्छ ।
कर्मचारीहरूलाई कार्यालयभित्रको अनुसाशन पालना गराउने सबालमा कार्यालय प्रमुखहरूको भूमिका प्रभावकारी नदेखिएको केन्द्रको निष्कर्ष छ ।
यस्तै स्थानीय तहहरूमा पनि जनप्रतिनिधिले समेत कर्मचारीलाई कार्यालय अनुशासन पालना गराउन पहल गरेको देखिँदैन ।