
सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् ।
उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसईई आउन ३ महिना मात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् ।
डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले बाँकेका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाइ समेत हुन सकेको छैन ।
गाउँपालिकाको राष्ट्रिय मावि वनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्णरूपमा बञ्चित भइरहेका छन् । पटक–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहीँकतैबाट व्यवस्थापन हुन नसकेको बताइएको छ ।
विक्रम संवत् २०६६ सालमा मावि तहको पढाइ शुरू गरेको विद्यालयमा मावि तहमा एक पनि शिक्षकको दरबन्दी छैन । वर्षभरि लगाएर पूरा गर्नुपर्ने विषय ट्युसन र स्वःअध्ययनका भरमा परीक्षा दिनुपर्ने बाध्यता रहेको विद्यार्थीको भनाइ छ ।
मुख्य विषयको ट्युसन पढे पनि अन्य विषय घरमै अध्ययन गरेर परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । शिक्षक अभावमा विद्यालयमा कार्यरत तल्ला तहका शिक्षकले बाध्यतावश कक्षा ९ र १० लाई पढाइरहेका छन् ।
एसईईको तयारीमा रहेका केही विद्यार्थी ट्युसनका भरमा स्वःअध्ययन गरिरहेका छन् । शिक्षक अभावमा आजित विद्यार्थीले शुक्रबार गाउँपालिकाको कार्यालयमै पुगेर शिक्षकको व्यवस्था गर्न माग गरेका छन् । पोशाकसहित पुगेका विद्यार्थीले तत्काल विद्यालयमा शिक्षक उपलब्ध हुनुपर्ने माग राखेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
गाउँपालिका अध्यक्षसँग विद्यार्थीले पढाइ नै नभएर आफूहरूको परीक्षाको नतिजा राम्रो नआउने गुनासो गर्दै तत्काल विषयगत शिक्षकको व्यवस्था गर्न माग गरेका थिए । यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने भन्दै विद्यार्थीले विद्यालयका प्रधानाध्यापकसहितको टोलीसमक्ष तत्काल शिक्षकको माग गरेका छन् । परीक्षा आउन ३ महिना मात्रै बाँकी छ ।
राष्ट्रिय मावि वनकट्टीमा गणित, विज्ञान, अंग्रेजीलगायत मुख्य विषयको पढाइ हालसम्म पनि भएको छैन । उक्त विद्यालय स्थापनाकालदेखि दरबन्दीविहीन छ । हरेक वर्ष शिक्षक माग गर्दै आए पनि अहिलेसम्म दरबन्दी पाउन नसकिएको विद्यालयका प्रधानाध्यापक मोहम्मद हुसेन खाँले बताए ।
सजिलो विषय तल्लो तहका शिक्षकले पढाउने गरे पनि विज्ञान, गणित लगायतका विषय शिक्षक अभावमा पढाइ हुनै नसकेको उनी बताउँछन् । शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ ।
उनले शिक्षक अभाव रहेको स्वीकार गर्दै गाउँपालिका नयाँ सोचका साथ अघि बढ्न लागेको बताए । उनले भने, ‘हामी शैक्षिक नीति नै तयार गरेर अघि बढ्ने सोचका साथ लागिरहेका छौं ।’
दीर्घकालीनरूपमा शिक्षकको समस्या समाधानका लागि जिल्ला शिक्षा समन्वय एकाइ लगायतका अन्य सरोकारवालासँग पनि छलफल चलिरहेको उनले बताए । शिक्षक अभावलाई पूर्ति गर्न गाउँपालिका सक्रिय भएर लागेको अध्यक्ष चौधरीको भनाइ छ ।