१४ असार २०८३, आइतबार
किसानको रोदन

आन्दोलित उखु किसान बिरामी, महाजनलाई तिर्नुपर्ने ३६% व्याजको थप चिन्ता

पुस १५, २०७६
आन्दोलित उखु किसान बिरामी, महाजनलाई तिर्नुपर्ने ३६% व्याजको थप चिन्ता

काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका अधिकांश उखु किसान बिमारी भएका छन् ।

धर्नामा रहेका उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफू बोल्नै नसक्ने अवस्थामा रहेको बताए । ‘मलाई अब नसोध्नुस्, अरुलाई सोध्नुस्, म त बोल्न पनि नसक्ने भएँ,’ उनले आग्रह गर्दै भने ।

रायलाई चिसोले रुघाखोकी लागेको छ । ‘म त आज उभिन पनि नसक्ने भएँ,’ रायले भने, ‘मलाई घरबाट बोलाइरहेका छन् तर घर त्यसै गएर के गर्नु ? महाजनलाई ऋण कसरी तिर्ने ? म काम सकेर मात्रै आउँछु भनेको छु ।’

सर्लाहीको धनकौल गाउँपालिकाका ४५ वर्षीय महाराज रायको ओठ चिसोले फुटेको छ । रुघाले गर्दा रायको स्वर फेरिएको छ । महाराजले ६ हजार ऋण खोजेर काठमाडौं आएको तर पैसा सकिएको बताए ।

‘घरमा ७० वर्षीया आमा हुनुहुन्छ । घरमा हाम्रो आम्दानीको स्रोत उखु खेती मात्रै हो,’ उनले भने, ‘कृषि विकास बैंकबाट ६ लाख ऋण लिएर कृषि पेशा गरेको हो । १–२ वर्ष भयो, अहिले गाह्रो भइरहेको छ ।’

अरुसँग कर्जा लिएर बैंकको ब्याज बुझाउने गरेको महाराजले बताए । ‘घरमा पालेको गोरु र गाढा बेचेर केही ऋण तिरें,’ उनले भने, ‘हामी किसानको जीवन खेती गरेर बिउ किन्न गाडा बेच्ने स्थिति छ हजुर !’

सर्लाहीको धनकौल गाउँपालिकाका ४६ वर्षीय बिन्देश्वर राय उखुको मूल्य भुक्तानीका लागि धर्नामा बस्न काठमाडौं आएको १४ दिन भयो । चिसोले बिन्देश्वरको खुट्टा सुन्निएका छन् । उपचार गर्न र घर फर्कन उनीसँग पैसा छैन ।

‘महाजनसँग ३६% ब्याजमा ऋण काढेर उखु लाएको बेचेर पैसा पाइएन, ऋण तिर्न सकिएन, ब्याज बढेको बढ्यै छ,’ बिन्देश्वरले भने, ‘सरकारले सुन्छ कि भनेर यहाँ आएको, खै कसैले सुन्दैन । अब घर फर्कन पैसा पनि छैन, उपचार गर्न पनि पैसा छैन, तपाईंहरूले दिए खर्च गरेर घर फर्किने हो ।’

गाउँको मान्छेले डिल्लीबजारमा कवाडीको काम गर्ने गरेको र साँझ त्यहीँ बस्ने गरेको बिन्देश्वरले बताए । ‘सरकारले पैसा देला/नदेला तर महाजनलाई हामीले आफ्नो जग्गा बेचेर पनि पैसा दिनुपर्‍यो । घरमा बालबच्चा छन्, समस्या धेरैै छ,’ बिन्देश्वरले दुःख पोखे ।

उखु किसानको आन्दोलनमा संघीय समाजवादी पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य रामप्रित पासवान पनि सहभागी भएका छन् । उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पासवानले चिनी मिल मालिकसँग मिलेर सरकार किसानप्रति अनुदार बनेको आरोप लगाए । 

‘सरकार देशप्रति र देशका अन्नदाताप्रति यतिधेरै अनुदार किन छ ? यी किसानहरूको कुरा सरकारले किन सुनिरहेको छैन ? यो विषय अचम्मको छ । चिनी मिलका सञ्चालकसँग सरकार कतै मिलिरहेको त छैन ? हामीलाई शंका लागेको छ,’ पासवानले लोकान्तरसँग भने, ‘किसान सरकारसँग पैसा माग्न आएको होइनन् नि ! किसानले आफूले बेचेको उखुको भुक्तानी पाउनको लागि भन्न आएको हो । धर्नामा आएका किसानको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको छ, सरकारले अविलम्ब किसानको आवाजलाई सुनुवाइ गर्नुपर्छ ।’

धर्नामा आएका केही किसान घरमा बच्चाबच्चा बिरामी भएर फर्केको र केही बिमारीको कारण कोठामै बसेकाले धर्नामा सहभागिता घट्दै गएको छ । आफ्नो स्वास्थ्य अवस्था कमजोर भएपनि महाजनलाई घरमा फर्केर पैसा तिर्ने अवस्था नभएकाले धर्नामा बस्नुको विकल्प नभएको सर्लाहीका किसान बिन्देश्वर रायले बताए ।

salt training

कमेन्ट गर्नुहोस्