
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
गएको वर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका ३ विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।
मोरङको रतुवामाई नगरपालिका–५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको शनिवार घरमा पुगेर आवश्यक सामग्री प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकालाई आवश्यक पर्ने शैक्षिक र खाद्यान्न सामग्री तथा जाडोको लत्ताकपडा प्रदान गरिएको उनले बताए ।
रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणि कार्की, शिक्षक भीम लुइँटेल, शिक्षिका भीमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाहकार ध्रुव सुवेदीले आवश्यक सामग्री प्रदान गरेका हुन् ।
विद्यार्थी भर्ना अभियानको क्रममा विक्रम संवत् २०७५ वैशाख ९ गते यी बालबालिकाको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेका थिए । उनीहरू बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरीब परिवारका यी बालबालिकाको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएका हुन् ।