
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (संघ)का कार्यकर्ताबीच पार्टी केन्द्रीय कार्यालयमा सानेपामा झडप भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्ने क्रममा सभापति देउवा र नेता कृष्ण सिटौलापक्षीय विद्यार्थीबीच झडप भएको हो ।
'उता सिटौलाहरू भागबण्डा गरेर आउने यता पार्टी कार्यालयमै सभापतिमाथि दुर्व्यवहार गर्न खोजिएपछि हामीले रोकेका हौं,' देउवापक्षीय विद्यार्थी नेता दीपक रिमालले बताए ।

उनले अमर्यादित व्यवहार गर्नेलाई रोकेको बताएपनि सिटौलापक्षीय विद्यार्थी नेता कुन्दन काफ्लेले भने आफूहरूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।
त्यसक्रममा आफूलाई चोटसमेत लागेको बताउँदै काफ्लेले आफूहरूलाई कुटपिटको विरोधमा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिसकेको पनि बताए ।

झडपपछि प्रहरी परिचालन भएको छ ।
नेविसंघमा लामो समयदेखि भागबण्डा विवाद चलिरहेको छ ।