१४ असार २०८३, आइतबार

लुम्बिनीमा ३ दिने बौद्ध महोत्सव

माघ २३, २०७६
लुम्बिनीमा ३ दिने बौद्ध महोत्सव

लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । 

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो ।

माघ २४ गतेदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हुँदैछ । 

बौद्ध कला, संस्कृति र साहित्यको महोत्सव नेपालमै पहिलोपटक आयोजना भएको हो ।

महोत्सवकै अवधिमा मोलाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । 

महोत्सवको पहिलो दिन माघ २४ गते बिहान लुम्बिनीमा शान्ति दौड हुँदैछ । दौडमा करीब ५ सय जनाको सहभागिता रहने भएको छ ।

शुक्रबार बिहान ११ बजे महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषको सभा हलमा हुने विश्वविद्यालयले जनाएको छ ।

शुक्रवारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाबिहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्ध धर्म र संस्कृतिसम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ ।

बिहान ११ बजेदेखि नै साँझसम्म बौद्ध सांस्कृतिक कार्यक्रम तय गरिएको छ । सभा हलमा हुने सो कार्यक्रममा बौद्ध धर्म र संस्कृति झल्किने नृत्यहरू गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रास लगायतका कार्यक्रम हुनेछन् ।

माघ २५ गते मोलाम पूजा र योगासहित विविध बौद्ध विषयहरूमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ ।

पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त बिडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा.डा. वेदप्रसाद गिरीले जानकारी दिए ।

कार्यपत्र प्रस्तुत २५ र २६ गते प्रस्तुत हुने उनले जानकारी दिए । महोत्सव समापन २६ गते साँझ हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्