
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित बहुप्रतीक्षित रूपरेखा सम्झौता नजिक पुगेको दाबी गरिए पनि त्यसमा हस्ताक्षर कहिले हुने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि दुवै पक्ष शान्ति सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भइसकेको र आइतबार विद्युतीय माध्यमबाट हस्ताक्षरको तयारी भइरहेको बताएका छन् ।
तर इरानले भने आइतबार नै हस्ताक्षर हुने पुष्टि गरेको छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले राज्य सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताको समयबारे टिप्पणी गर्न हतार गर्न नहुने बताएका छन् । उनले सम्झौता ‘आइतबार नहुने तर केही दिनभित्र हुन सक्ने’ संकेत दिएका छन् ।
ट्रम्पले रूपरेखा सम्झौतापछि विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरू तत्काल सबैका लागि खुला गरिने बताएका छन् । युद्धका क्रममा इरानले उक्त मार्ग अवरुद्ध गरेको थियो।
युद्धका कारण इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको भए पनि विश्लेषकहरूले इरानभित्र कट्टरपन्थी रिभोलुसनरी गार्ड्सको प्रभाव अझ बलियो बनेको बताएका छन् । तेहरानमा सम्झौताको विरोध गर्दै प्रदर्शनसमेत भएका छन् । प्रदर्शनकारीहरूले विदेशमन्त्री अब्बास अराघचीविरुद्ध नाराबाजी गर्दै अमेरिकासँग सम्झौता नगर्न माग गरेका छन् ।
यसबीच अमेरिका र इरान सम्झौताउन्मुख देखिए पनि क्षेत्रीय तनाव भने कायम छ । अमेरिकी सेनाले शनिबार होर्मुज जलडमरूतर्फ गइरहेका इरानी आक्रमणकारी ड्रोनहरू खसालेको जनाएको छ । उता इजरायलले पछिल्लो २४ घण्टामा लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित ७० भन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ ।
सम्भावित समझदारीअनुसार इरानले होर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने तथा अमेरिका त्यसको बदलामा समुद्री नाकाबन्दी हटाउने स्रोतहरूको भनाइ छ । त्यसपछि इरानको आणविक कार्यक्रमबारे ६० दिनसम्म छुट्टै वार्ता हुने बताइएको छ ।
मस्यौदा सम्झौताअनुसार अमेरिकाले इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने र तेल निर्यातसम्बन्धी केही प्रतिबन्ध हटाउने तयारी गरेको छ । बदलामा इरानले जलडमरू खुला गर्नेछ ।
अमेरिकी अधिकारीहरूका अनुसार अन्ततः इरानको आणविक कार्यक्रम विघटन गर्ने, उच्च मात्रामा संवर्धित युरेनियम नष्ट गर्ने तथा देशबाहिर हटाउने लक्ष्य राखिएको छ । यद्यपि इरानले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक नगरेको रोयटर्सले लेखेको छ ।