०८ असार २०८३, सोमबार
शान्तिको आशा

ट्रम्पको दाबी- युद्ध अन्त्य गर्ने सम्झौता आजै हुँदैछ, इरान भने अझै सतर्क !

जेठ ३१, २०८३
काठमाडौं
ट्रम्पको दाबी- युद्ध अन्त्य गर्ने सम्झौता आजै हुँदैछ, इरान भने अझै सतर्क !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन् । 

तर, इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै निश्चित भइनसकेको संकेत दिएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्झौता भएपछि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग सबैका लागि खुला हुने बताएका छन् ।

वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले पनि शनिबार सम्झौताले आगामी २४ घण्टाभित्र अन्तिम रूप पाउने सम्भावना रहेको जनाएको थियो । पाकिस्तानले विद्युतीय माध्यमबाट हस्ताक्षरको तयारी भइरहेको समेत उल्लेख गरेको छ ।

तर, ट्रम्पको अभिव्यक्तिअघि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले सम्झौतामा हस्ताक्षर हुने मितिबारे सावधानीपूर्वक प्रतिक्रिया दिएका थिए ।

उनले समझदारीपत्रमा हस्ताक्षर हुने ठ्याक्कै मिति अझै निश्चित नभएको र आइतबार हस्ताक्षर नहुने संकेत गरेका थिए ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार वार्तामा मध्यस्थता गरिरहेको कतारको एक प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको छ । 

उक्त भ्रमणले सम्झौतामा हस्ताक्षरको समयतालिकामा असर पार्ने वा नपार्ने विषय भने स्पष्ट भइसकेको छैन ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले लेखेका छन्, 'सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ । हस्ताक्षर भएलगत्तै होर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ ।'

इरानको संवर्धित युरेनियम भण्डारतर्फ संकेत गर्दै उनले उपयुक्त समयमा अवस्था पूर्ण रूपमा शान्त भएपछि न्यूक्लियर डस्ट नियन्त्रणमा लिएर नष्ट गरिने पनि बताएका छन् ।

पश्चिमा मुलुकहरूले दशकौँदेखि इरानमाथि आणविक बम निर्माणको प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् । 

इरानले भने आफ्नो आणविक कार्यक्रम विद्युत् उत्पादन र अनुसन्धानजस्ता शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको बताउँदै आएको छ ।

ट्रम्पले सम्झौता छिटो, सहज र व्यवस्थित रूपमा कार्यान्वयन नभए अमेरिकासँग अन्तिम विकल्प पनि रहेको चेतावनी दिएका छन् । उनले त्यो विकल्प फेरि प्रयोग गर्न नपरोस् भन्ने आशा व्यक्त गरेका छन् ।

यसअघि शनिबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शान्ति सम्झौता अहिलेसम्मकै नजिक पुगेको बताएका थिए ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'अर्को २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना छ । त्यसपछि तत्काल विद्युतीय हस्ताक्षर गरिनेछ र आगामी साता प्राविधिक तहका वार्ता हुनेछन् ।'

शुक्रबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिका र इरान सम्झौता नजिक पुगेको बताएका थिए ।

उनका अनुसार प्रस्तावित सम्झौतामा लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने व्यवस्था पनि समावेश गरिएको छ । 

साथै, इरानको आणविक कार्यक्रमबारे थप वार्ता पछि शुरू गरिनेछ ।

अमेरिकी अधिकारीहरूले सम्झौताका केही विवरण पुष्टि गर्दै इरानले आफ्ना दायित्व पूरा गरेपछि मात्र आर्थिक लाभ प्राप्त गर्ने बताएका छन् ।

पछिल्ला केही महिनामा यस्ता विभिन्न सहमतिहरू हुने अपेक्षा पटक–पटक गरिए पनि अन्तिम चरणमा पुगेर सफल हुन सकेका थिएनन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानभरि हवाई आक्रमण गरेपछि युद्ध शुरू भएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई निशाना बनाएको थियो । साथै, विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ढुवानीका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग प्रभावकारी रूपमा बन्द गरेको थियो ।

अप्रिलमा युद्धविराममा सहमति भए पनि अमेरिका र इरानबीच बीच–बीचमा आक्रमण र प्रत्याक्रमण जारी रहेको छ ।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इजरायल र इरान समर्थित लेबनानी समूह हिजबुल्लाहबीचको द्वन्द्व उक्त सम्झौताको हिस्सा नहुन सक्ने बताएका थिए । 

तर, इरानले त्यसलाई सम्झौतामा समावेश गर्न जोड दिएको बताइएको छ ।

इजरायलले अमेरिका–इरान सम्झौताको पक्ष आफू नभएको संकेत गरेको छ । उसले उत्तरी इजरायलमा भएका आक्रमणको जवाफस्वरूप हिजबुल्लाहविरुद्धका कारबाही जारी राख्ने अडान दोहोर्‍याएको छ ।

आइतबार इजरायलले दक्षिणी लेबनानका २९ गाउँका बासिन्दालाई क्षेत्र खाली गर्न निर्देशन दिएको छ । यस्तो निर्देशन सामान्यतया हवाई आक्रमणअघि जारी गरिन्छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल अविचाय अद्राईले युद्धविराम सम्झौता उल्लंघन भएकाले हिजबुल्लाहविरुद्ध बल प्रयोग गर्न बाध्य भएको बताएका छन् ।

उनले उत्तरी इजरायलको एक सैन्य क्षेत्रमा खसेका दुई संदिग्ध ड्रोनको घटनातर्फ संकेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्