
चर्चित सेफ सन्तोष साह दुई दिनदेखि प्रहरी हिरातमा छन् । काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा साहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई जनकपुरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनको रेस्टुरेन्ट सञ्चालक सदस्यमध्येका एक नारायण साह सुडीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले साहविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी आएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
पीडित मध्येकी शकुन्तला थापाले गैरीधारामा सञ्चालन गरेको रेष्टुरेन्ट साहलाई एक करोड ३० लाखमा बिक्री गरेकी थिइन् । साहले पैसा तिर्ने बेलामा चेक दिएका थिए । चेक नसाटिएपछि थापाले उजुरी गरेकी थिइन् । शुरूमा प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएपछि साहले पैसा तिर्नका लागि केही समय मागेका थिए । तर, भाका नाघेपछि थापा बाध्य भएर मुद्दामा गएकी हुन् ।
सिरहाका साह चर्चित नेपाली सेफ हुन् । उनले जनकपुरदेखि ललितपुरको झम्सीखेल र काठमाडौंको गैरीधारामा ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।
सन् २०२० मा बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’मा प्रतिस्पर्धा गरेका साह ‘सेकेन्ड रनरअप’ घोषित भएका थिए । त्यसपछि उनको चर्चा चुलिएको थियो ।
सेलिब्रिटी बनेका साहले कारोबार बिगार्दा उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बसेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘लगानीको अपेक्षित मुनाफा नहुँदा साहले आम्दानी गर्न सकेनन्, होटलमा उनको लगानी धेरै थियो, मुनाफा नभएपछि उनले पैसा तिर्न नसकेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन् ।'
साहले शुरूमा जनकपुर र ललितपुरको झम्सीखेलमा करोडौं रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालन गरेका थिए । काठमाडौंको गैरीधारामा पनि चेन होटलका रूपमा विस्तार गर्दा उनी डुबेका हुन् ।
प्रहरीले अहिले साहविरुद्ध बैंकिङ कसुर र ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।