१३ असार २०८३, शनिबार

दुर्घटनापछि फरार रहेका टिप्पर चालक १७ दिनपछि पक्राउ

असार १२, २०८३
काठमाडौं
दुर्घटनापछि फरार रहेका टिप्पर चालक १७ दिनपछि पक्राउ

स्याङ्जाको चापाकोट नगरपालिका–४ पुम्दीमा टिप्पर दुर्घटना गराएर फरार रहेका चालक १७ दिनपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत जेठ २७ गते मल्याङ्कोटबाट घुर्लिचौरतर्फ सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालोमा चिप्लिएर करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा टिप्परमा कार्यरत दुई जना घाइते भएका थिए।

घाइतेमध्ये म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका २३ वर्षीय तिलक परियारको उपचारका लागि गह्रौ स्वास्थ्य केन्द्र, वालिङ लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का घाइते १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको थियो। उपचारपछि उनी सोही रात डिस्चार्ज भएका थिए ।

दुर्घटनापछि फरार रहेका टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका–१ का २६ वर्षीय रेषमबहादुर गिरीलाई असार १२ गते बिहान करिब ८ बजे चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित कालिगण्डकी होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक बोमबहादुर जिसीको नेतृत्वमा खटिएको टोलीले चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

उक्त टिप्पर सडक निर्माणको जिम्मा लिएको कम्पनीको काममा प्रयोग भइरहेको थियो ।

इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्