१० असार २०८३, बुधबार
फिफा विश्वकप–२०२६

स्वीडेनसामू निरीह बन्यो ट्युनिसिया

असार १, २०८३
काठमाडौं
स्वीडेनसामू निरीह बन्यो ट्युनिसिया

फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा युरोपेली टोली स्वीडेनले विजयी शुरूआत गरेको छ । स्वीडेनले सोमबार बिहान मेक्सिकोमा खेलिएको खेलमा अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५–१ गोलको सजिलो जित हासिल गर्‍यो ।

खेलको प्रारम्भदेखि नै स्वीडेनले ट्युनिसियालाई दबाबमा राखेको थियो । खेल शुरू भएको सातौँ मिनेटमै स्वीडेनका लागि यासिन अयारीले पहिलो गोल गरे ।

प्रतिद्वन्द्वीमाथि निरन्तर दबाब बनाएको स्वीडेनले ३०औँ मिनेटमा अग्रता दोब्बर बनायो । स्वीडेनका लागि दोस्रो गोल एलेक्जेन्डर ईसाकले गरे ।

पहिलो हाफमै ट्युनिसियाले एक गोल फर्कायो । निर्धारित समयको ४३औँ मिनेटमा ट्युनिसियाका लागि ओमर रेकिकले गोल गरे ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको स्वीडेनले दोस्रो हाफमा पनि तीन गोल थप्यो । स्वीडेनका लागि तेस्रो गोल ५९औँ मिनेटमा आर्सनलका फरवार्ड भिक्टर ग्योकेरसले गरे ।

निर्धारित समयको ८४औँ सेकेन्डमा माटियस स्वानबर्गले स्वीडेनका लागि चौथो गोल थपे । उनले गरेको गोललाई सुरुमा रेफ्रीले अफ–साइड घोषित गरेका थिए ।

तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोलको मान्यता दियो । स्वीडेनका लागि पाँचौँ गोल दोस्रो हाफको इन्जुरी समयमा यासिन अयारीले गरे । उनको यो दोस्रो गोल थियो ।

समूह ‘एफ’मा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अंकसहित स्वीडेन पहिलो स्थानमा आसिन छ । एक अंकसहित जापान दोस्रो र समान अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

ट्युनिसिया आफ्नो पहिलो खेलमै पराजित भएको छ । यसअघि, यही समूहको खेलमा जापानले नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्