
रुसको सरकारी कार्यालय क्रेमलिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको उच्च प्रशंसा गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै मोदी आधुनिक भारतीय इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई तथा प्रशंसा व्यक्त गरे।
मोदीले गत साता भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उछिन्दै आधुनिक भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाएका थिए ।
क्रेमलिनका प्रवक्ता पेस्कोभले मोदी शासनकालमा भारतका २५ करोड (२५० मिलियन) जनता गरिबीको रेखाबाट माथि उठेको बताए। उनले यो उपलब्धिलाई भारतका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण र ठुलो सूचकका रूपमा वर्णन गरे।
भारत हाल विश्वकै सबैभन्दा तीव्र आर्थिक वृद्धि र विकासको गति भएको एक प्रमुख विश्वव्यापी आर्थिक शक्तिका रूपमा उदाएको प्रवक्ता पेस्कोभले बताए । रुसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भारतसँगको बलियो र रणनीतिक साझेदारी सम्बन्ध रहेको उनले उल्लेख गरे ।