१० असार २०८३, बुधबार

ईरान युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको दाबी

उपराष्ट्रपति भन्छन्- समझदारी पत्र करिब डेढ पानाको मात्र
असार २, २०८३
काठमाडौं
ईरान युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्ध अन्त्य गर्ने सम्झौता पूर्ण रूपमा साइन (हस्ताक्षर) भइसकेको घोषणा गरेका छन् । जी-७ समिटमा भाग लिन फ्रान्स पुगेका राष्ट्रपति ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्। ट्रम्पका अनुसार यो सम्झौताको विस्तृत ब्यहोरा छिट्टै सार्वजनिक गरिनेछ।

राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग हाल आंशिक रूपमा खुला भइसकेको र आउँदो शुक्रबारसम्ममा यसलाई पूर्ण रूपमा खोलिने उनले जानकारी दिए। जेनेभामा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुने दिन अर्थात् शुक्रबार नै यो जलमार्ग पूर्ण रूपमा खुल्ने अमेरिकी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

वार्ता राम्रो भए तापनि बीचमा सैन्य कदम चाल्नुपरेको उल्लेख गर्दै ट्रम्पले भने, 'हाम्रो ईरानसँग धेरै राम्रो सम्बन्ध बनिरहेको थियो । तर मलाई दुःख छ कि हामीले बीचमा दुई रातका लागि पछाडि हटेर सैन्य कारबाही (हमला) गर्नु पर्यो।'

समाचार एजेन्सी रोयटर्सका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र ईरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सम्झौतामा डिजिटल हस्ताक्षर गरिसकेको खुलासा गरे ।

अधिकारीहरूका अनुसार सम्झौताको पूर्ण ब्यहोरा आगामी २४ देखि ४८ घण्टाभित्र जारी गरिनेछ । यसै साताको अन्त्यतिर ईरानको आणविक कार्यक्रमलाई लिएर प्राविधिक स्तरको वार्ता शुरू हुनेछ। 

प्रतिबन्धहरू हटाउने वा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्ने कुरा ईरानले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू कत्तिको पूरा गर्छ भन्ने कुरामा निर्भर रहने अधिकारीहरूले स्पष्ट पारेका छन्।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले 'सीएनएन'सँग कुरा गर्दै अमेरिका र ईरानबीच भएको समझदारी पत्र करिब डेढ पानाको मात्र रहेको र यो एउटा धेरै सामान्य दस्तावेज भएको बताए।

उपराष्ट्रपतिले धेरैजसो विस्तृत विवरणहरू भविष्यमा हुने वार्ताहरूमार्फत तय गरिने जानकारी दिए । 'धेरै विषयहरूमा हामीले प्राविधिक वार्ताको चरणमा कुराहरू टुङ्ग्याउनु पर्नेछ। तर यो समझदारी पत्रले एउटा यस्तो रूपरेखा (फ्रेमवर्क) तयार गरेको छ, जस अन्तर्गत ईरानले सम्झौता बमोजिमका आफ्ना दायित्वहरू पूरा गरेपछि मात्र सम्झौताका फाइदाहरू प्राप्त गर्नेछ।'

salt training

कमेन्ट गर्नुहोस्