०८ असार २०८३, सोमबार

पोखरा महानगरको नीति कार्यक्रमः 'एक पर्यटक एक मित्र' अभियान चलाइने

असार ५, २०८३
कास्की
पोखरा महानगरको नीति कार्यक्रमः 'एक पर्यटक एक मित्र' अभियान चलाइने

: देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे । 

‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि आगामी वर्षको कार्यक्रमले सहयोग पुग्ने महानगर प्रमुख आचार्यले बताए । “निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू आत्मसात् गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ”, आचार्यले भने। महानगरले आगामी वर्षका लागि विभिन्न ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ ।

पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई नागरिकस्तरबाट आवश्यक जानकारीसहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका अगाडि बढाउन ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने महानगर प्रमुख आचार्यले बताए । 

त्यसैगरी, सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने र तालवरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने प्रमुख आचार्यले बताए । 

पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकीकृत प्रवर्द्धन गर्ने तथा फेवाताल, वेगनासताल, रूपाताललगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।

पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा त्रिपक्षीय भ्रमण आदानप्रदानलगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवर्द्धनात्मक गतिविधिहरूलाई नीति कार्यक्रममा जोड दिइएको छ ।

महानगरका प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको मेगा वृक्षरोपण अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने तथा महानगर क्षेत्रमा रहेका एक सय वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन र ‘जिपिएस नक्साङ्कन’सहित अभिलेख तयार पारिने महानगर प्रमुख आचार्यले बताए । 

salt training

कमेन्ट गर्नुहोस्