०९ असार २०८३, मंगलबार

बारामा भयानक मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

असार ८, २०८३
बारा
बारामा भयानक मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालकसहित मोटरसाइकलमा सवार अर्का एक युवक र एक पैदल यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृत्यु हुनेमध्ये जीतपुरसिमरा–१ पथलैया घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौंको टोखा नगरपालिकाका डिजेन जोशीको पहिचान खुलेको छ। पैदल यात्रुको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक डिजेन जोशी र सभ्य अधिकारीको शव बयोधा अस्पतालमा राखिएको छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्