
नवस्थापित ‘नेपाल विश्वविद्यलाय’ले पहिलोपटक स्नातकोत्तर र स्नातक तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम आरम्भ गरेको छ ।
बहुविधात्मक अवधारणामा आधारित सो विश्वविद्यालयले लिवरल आर्टस् र साइन्सेस अवधारणामा आधारित रहेर अनुसन्धानमुखी केन्द्रका रुपमा विकसित भई बहुआयामिक, रोजगारमूलक र समयसापेक्ष शिक्षा प्रदान गर्ने लक्ष्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
नागरिक चेतना र सकारात्मक जीवनदृष्टि सहितको जिम्मेवार, क्षमतावान, सिर्जनशील र उद्यमशील पुस्ता विकास गर्ने लक्ष्य लिएको सो विश्वविद्यलयले शुक्रबार सरोकार भएका पक्षसँग अन्तक्र्रिया गरेर आफ्नो स्थापनाको लक्ष्य र अवधारणा सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि स्कुल अफ आर्टस्, साइन्स र प्रविविध संकायमा विभिन्न विषयमा भर्ना सुरु भएको जनाएको हो । समकालीन विश्वका उच्चशिक्षा प्रणालीसम्बन्धी आधारभूत सिद्धान्त र नवीन मान्यतालाई आत्मसात् गर्दै बेग्लै ऐनद्वारा मानक विश्वविद्यालयका रुपमा स्थापित सो विश्वविद्यालयले स्नातकोत्तर तहको शैक्षिक काकर्यक्रम सुरु गरिसकेको छ भने हालै स्नातक तहमा आवेदन खुल्ला गरेको छ । स्नातक तहका लागि आगामी साउन ४ गतेका लागि प्रवेश परीक्षा तय गरिएको र आगामी भदौ १६ गतेबाट कक्षा सञ्चालन गरिने जनाइएको छ ।
विश्वविद्यालयका उपकुलपति डा अर्जुन कार्कीले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीप र रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम जनशक्ति उत्पादन गर्न आफूहरुको वकालतका आधारमा सो विश्वविद्यालय खुल्न सफल भएको बताए ।