१३ असार २०८३, शनिबार

स्कटल्याण्डविरुद्ध स्टार फरवार्ड नेयमार मैदान उत्रने आशा

असार ६, २०८३
काठमाडौं
स्कटल्याण्डविरुद्ध स्टार फरवार्ड नेयमार मैदान उत्रने आशा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को आफ्नो दोस्रो खेलमा हैटीलाई ३–० ले पराजित गरेपछि ब्राजिलियन टोलीका लागि अर्को सुखद खबर आएको छ । मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी बुधबार स्कटल्याण्डविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा स्टार फरवार्ड नेयमार मैदानमा उपलब्ध हुने अपेक्षा गरेका छन् ।

३४ वर्षीय नेयमार पिँडुलाको चोटका कारण गत दुई खेलमा मैदान बाहिरै रहेका थिए। उनले अन्तिम पटक गत मे १७ मा ब्राजिलको शीर्ष डिभिजन क्लब सान्तोसका लागि खेलेका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक एन्सेलोटीले नेयमारको पुनरागमनबारे जानकारी दिँदै भने, 'नेयमारले शनिबारदेखि व्यक्तिगत रूपमा अभ्यास शुरू गर्नेछन् र सोमबार उनी टोलीका अन्य खेलाडीहरूसँगै नियमित अभ्यासमा सामेल हुनेछन् । उनी स्कटल्याण्डविरुद्धको खेलका लागि उपलब्ध हुनेछन्।'

सन् २०२६ को विश्वकप छनोट चरणका क्रममा चोटका कारण नेयमारले धेरै खेलहरू गुमाउनु परेको थियो । यद्यपि, मैदान उत्रिएका ४ खेलमा २ गोल र ३ असिस्ट गर्दै उनी टोलीका लागि निकै प्रभावशाली साबित भएका थिए।

हैटीविरुद्धको खेलमा पहिलो हाफमै सानदार दुई गोल गरेका फरवार्ड म्याथ्युज कुन्हालाई नै आगामी खेलमा पनि 'सेन्टर-फरवार्ड' को रूपमा निरन्तरता दिने विषयमा भने प्रशिक्षक एन्सेलोटीले स्पष्ट जवाफ दिएनन् । मरोक्कोसँगको पहिलो खेलमा ६१ औँ मिनेटमा सब्सटिच्युट भई मैदान छिरेका कुन्हालाई हैटीविरुद्ध इगोर थियागोको स्थानमा सुरुवाती-११ मा राखिएको थियो ।

शुक्रबार नै भएको अर्को खेलमा मरोक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेपछि हाल ४ अङ्क जोडेको ब्राजिल गोल अन्तरका आधारमा मरोक्कोभन्दा अगाडि रहँदै समूहको शीर्ष स्थानमा छ। अर्कोतर्फ ३ अङ्क रहेको स्कटल्याण्डका लागि बुधबार मियामीमा हुने खेल गर या मरको अवस्थाजस्तै हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्